युद्धमा सहभागीहरूले नै शान्तिको महत्त्व बुझ्ने गर्छन् : अध्यक्ष प्रचण्ड



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा युद्धले नै शान्ति ल्याएको बताएका छन्।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण कार्यक्रममा बोल्दै प्रचण्डले युद्धमा सहभागीहरूले सबैभन्दा बढी शान्तिको महत्त्व बुझ्ने गरेको बताए।

‘युद्धमा सहभागीहरूले सबैभन्दा बढी शान्तिको महत्त्व बुझेका हुन्छन्। मान्छेहरू लाग्छ एक पटक युद्धमा गएपछि बढो क्रुरुर छ कि त्यो बढी अमानवीय छ कि त्यो लोकतान्त्रिक छैन कि भन्ने भ्रम हुन्छ’, प्रचण्डले भने, ‘यथार्थ हेर्नुभयो भने चाहे अमेरिका स्वतन्त्र संग्रामको कुरा गरौं, युरोपका ठुला ठुला क्रान्तिको कुरा गरौं। जो ठुला ठुला विद्रोहमा गए शान्ति तिनीहरूले नै बुझे। शान्तिको लागि समाजमा उनीहरुले नै योगदान गरे।’

अहिले पनि मान्छेमा माओवादी युद्धकालिन अवस्थामा जस्तै छ कि भन्ने भ्रम भएको प्रचण्डले बताए। ‘माओवादी उस्तै छ क्यारे भन्या जस्तो शान्ति सम्झौता, गणतन्त्र, संघीयता संक्रमणकालीन न्याय टुंगाउनको लागि लोकतान्त्रिक प्रक्रियामा टुंग्याउनको लागि सबैभन्दा गहिराइका साथ हामी लागि नै राखेका छौं’ प्रचण्डले भने।

कार्यक्रममा सहभागीप्रति लक्षित गर्दै प्रचण्डले यस कार्यक्रममा सहभागीहरूमा सबैभन्दा बढी भ्रम छ कि भन्ने परेको बताए । ‘युद्ध र शान्ति माओवादीले के भूमिका खेलिरहेको छ ? माओवादी नेतृत्वले के भनिराखेको छ ? भन्नेमा भ्रम छ’ उनले भने, ‘शान्ति लोकतन्त्र, समृद्धि र समाजवादको निम्ति ठुलो पीडा र छटपटी माओवादीलाई छ। ठुलो त्याग र बलिदानबाट आएको हुनाले माओवादी तपाईँको शान्तिको चाहनासँग एकाकार छ।’