काठमाडौँ। पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन्।
बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन्। पूर्व आईजीपी खनाल जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए।
खनालले एमाले प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताए।‘एमालेमा प्रवेश गर्न म पाउँदा हर्षविभोर भएको छु। आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु’ उनले लेखेका छन्।
२०७७ सालमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएका बेला खनाल, एमाले नेता महेश बस्नेत र तत्कालिन एमाले नेता किसान श्रेष्ठले धनुषा पुगेर जनता समाजवादी पार्टीका नेता डा.सुरेन्द्र यादवलाई काठमाडौं ल्याएका थिए। त्यतिबेला जसपाले आफ्नो सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो।