काठमाडौँ। न्याय परिषद्ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्तिको सिफारिस गरेको छ।
परिषद्ले नियुक्तिका लागि सरकारलाई परामर्श दिएको हो। अब परिषद्को सिफारिसअनुसार नियुक्तिको निर्णय हुनेछ।
जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृत खटाउने व्यवस्था छ। परिषद्को निर्णयअनुसार ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरिएको छ। एकभन्दा बढी न्यायाधीश रहेको जिल्लाको हकमा मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा सिफारिस गर्ने प्रचलन छ।
यस्तै परिषद्ले १७ जना जिल्ला न्यायाधीशलाई जगेडामा सिफारिस गरेको छ। यस्तै परिषद्ले न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ कर्मचारीलाई निर्वाचन अधिकृतमा सिफारिस गरेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ।