‘आधा गिलास भरी र आधा गिलास खाली’ आज पुष्टि भयो: भट्टराई



काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुरुमै संविधानलाई ‘आधा गिलास भरी र आधा गिलास खाली’ भनेको आज आएर पुष्टि भएको बताएका छन्।

आठौँ संविधान दिवसका अवसरमा सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्, ‘हामीले शुरुमै यो संविधानलाई ‘आधा गिलास भरी र आधा गिलास खाली’ भनेको कुरा आज आएर अरु प्रष्ट भएको छ।’

अध्यक्ष भट्टराईले संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरेपनि संघीयता, शासकीय स्वरूप र निर्वाचन प्रणाली तर्फ संविधान अधुरो रहेको बताएका छन्।

‘यस संविधानले मधेसी, थारु जनजातिको माग र भावनालाई सम्बोधन गर्न चुक्यो। महिलाहरू प्रतिको विभेद कायमै रह्यो’, भटराईले भनेका छन्। भट्टराईले विद्यमान संविधानले सम्बोधन गर्न नसकेको पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्सहितको शासकीय स्वरूप जस्ता महत्त्वपूर्ण कुराहरूलाई संविधान संशोधन मार्फत पूर्णता दिनै पर्ने भन्दै संविधानका सकारात्मक उपलब्धिहरूको रक्षा गर्दै प्रयोगकर्ताहरूलाई पूर्णता दिन संविधान संशोधन गर्न र लोकतन्त्रलाई निरन्तर विकसित गर्दै लैजान सबै लोकतान्त्रिक शक्तिहरू र आम जनसमुदायमा अपिल गरेका छन्।