काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन्।
शनिवार पार्टी केन्द्रीय कार्यालयमा १० औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरूलाई फुटाउनेतिर लैजाने बताए। उनले विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजाने उल्लेख गर्दै विज्ञानको बारेमा देशमा ठुलो बहस चलाउन आवश्यक रहेको बताए।
उनले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताए। उनले भने, ‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ। अध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरूलाई फुटाउनेतिर गएको छ।
मैले अहिले यसमा डिबेट ठुलो गर्न लागेको होइन। हामीकहाँ त अब तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने संस्कार छ नि। मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है। चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन् त। तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरीकन भनेको हो। हामी घरैपिच्छे पूजा गर्दै हिँड्ने मान्छेलाई पूजा गरे, गरिबलाई पूजा गरे कति राम्रो हुन्थ्यो । यो डिबेट हाम्रो समाजमा नै राम्रो डिबेट गर्नुपर्ने विषय छ।’
उनले थपे, ‘हामीलाई विद्वानहरुले पनि ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ भनेर सिकाइयो, बालकृष्ण समको त्यो सही होइन। ठूलै साहित्यकारले भनेपनि त्यो कुरा सही छैन । यो संस्कारले हाम्रो समाजमा विज्ञान प्रविधिको विकासलाई अवरोध गरेको छ। एक जमाना थियो, मानिसले बुझिसक्नु थिएन। प्रकृति के हो, किन चट्याङ किन पर्छ, भन्नेकुरा त्यतिबेलाका मान्छेलाई बुझिसक्नु थिएन। त्यसैले माथि कोही छ, सञ्चालक कोही छ, त्यसको करामत हो भन्दिएपछि त्यसलाई खुसी पारे बाढी, आगो, डढेलो लाग्दैन, महामारी रोगव्याधी आउँदैन भनेपछि एउटा बाच्ने आधार बनाए।
विभिन्न तरिका अपनाए। त्यो अज्ञानतामा आधारित छ। थाहा नपाएर हो। त्यसले कुनै जमानामा मानिसलाई बचायो। विज्ञान प्रविधि आफैँ त कसैको पनि हुँदैन। सबैको हुन्छ, यसले विभेद गर्दैन। तर प्रयोग कर्ताले त्यसलाई दुरुपयोग र सदुपयोग दुवै गर्दछन्। भयानक दुरुपयोग पनि हुनसक्छ, भयानक सदुपयोग पनि हुनसक्छ। समाज र राष्ट्रको समृद्धिको ठुलो माध्यम हुन्छ भन्ने पनि प्रमाणित छ र अझ भयानक विभेद पैदा गर्नको लागि दुरुपयोग पनि गर्न सक्छन् मान्छेले।’