महंगी झन् आकासियो



काठमाडौँ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको साउन महिनामा ४.३५ प्रतिशत मुदास्फीति रहेकोमा यसपटक करिव ९ प्रतिशत पुगेको हो।

नेपालीहरुका ठूला चाडवाड आइरहेको अवस्थामा उपभोक्तामाथि अझ मूल्यवृद्धिको चाप पर्ने अनुमान छ। साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ।

२०७८ साउनको तुलनामा २०७१ साउनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र १०.१९ प्रतिशत रहेको छ।

साथै, गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फनिसिङ तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३.८८ प्रतिशत, १०.५४ प्रतिशत, ९.०४ प्रतिशत, ८.११ प्रतिशत र ७.८६ प्रतिशत रहेको छ।

यस्तै, साउनमा काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशत र हिमालमा ६.६४ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमशः ३.७० प्रतिशत, ४.११ प्रतिशत, ५.६३ प्रतिशत र ३.५८ प्रतिशत मुद्रास्फीति रहेको थियो। यो समाचार कारोबार दैनिकमा छ ।