काठमाडौँ। निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको छ।
बिहीबार आयोगले पत्र लेखेर जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरणको काम रोक्न निर्देशन दिएको हो।
आयोगले काम रोकेर त्यसबारेको जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचन आयोगले निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख्न ४ मंसिरको चुनावअघि लालपूर्जा नबाँड्न निर्देशन दिएको हो।
निर्वाचन आयोगले सरकारी खर्चमा वैदेशिक भ्रमण नगर्न पनि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।आयोजक र प्रायोजकले खर्च व्यहोर्ने गरी स्वीकृत भएको वैदेशिक भ्रमणबाहेक नेपल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट खर्च हुने गरी वैदेशिक भ्रमण गर्न नपाइने आयोगको भनाइ छ।