डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो



काठमाडौँ। नेपालमा एकै दिन डेंगुका १ हजार २३० बिरामी थपिएका छन्।

बुधबार थपिएसँगै कुल संक्रमितको संख्या ११ हजार ६५ पुगेको छ । मंगलबारसम्म नौ हजार ८३५ जना संक्रमित थिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडीसीडी० अनुसार देशको ७५ जिल्लामा फैलिएको डेंगु संक्रमण झन् भयावह रुपमा वृद्धि भइरहेको छ ।

सबैभन्दा बढी संक्रमण बागमती प्रदेशमा देखिएको इडीसीडीले जनाएको छ । बुधबारसम्म बागमतीमा आठ हजार ३९० जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै, लुम्बिनीमा एक हजार ४२१, प्रदेश १ मा ३४७ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु देखिएको छ ।

त्यस्तै, गण्डकीमा २२४, मधेशमा १९८ र कर्णालीमा १६२ जनामा डेंगुको संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउनयता डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ । संक्रमण बढ्दै गएकाले सरकारले डेंगुको सेरोटाइपिङको अनुसन्धान गरिरहेको जनाएको छ ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार सेरोटाइपिङका हुन्छन् । डेंगु नेपालमा सन् २००४ मा देखिएको थियो । त्यसपछि हरेक बर्षजसो देखिदै आएको छ । सन् २०१९ मा डेंगु २ फैलिएको थियो ।