राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन्।

संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका विधेयकहरुलाई राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११३ को उपधारा २ बमोजिम भण्डारीले तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।

यस्तै स्टाण्डर्ड नाम र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिले यसअघि नै प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक भने प्रमाणीकरण गरेकी छैनन्। सो विधेयकबारे राष्ट्रपतिले निरन्तर परामर्श गर्दै आएकी छन्।