समाजवादको नेपाली मार्गचित्र



समाजवाद विशिष्ट राजनीतिक मोडल हो । सामाजिक न्यायको सिद्धान्त हो । व्यक्तिवाद र पूँजिवादी सत्ताका विरुद्ध अघि सारिएको राजनीतिक दर्शन हो । समाजवाद युगिन यात्रा हो । यसको खास मोडल र सूत्र हुँदैन भन्ने कुरा आम रुपमा थाहा भएकै विषय हो । समाजवादको नेपाली मोडलका बारेमा बहसहरु सुनिन थालेका छन् । जुन खबरहरु समाजवादीहरुका लागि खुशीका खबर हुन् ।

समाजवादको नेपाली मोडलका बारेमा विद्यमान संविधानले केही इंगित गरेको छ । त्यसलाई समाजवादतर्फ संक्रमण गर्ने काम राजनीति शक्तिको हो । स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादन, अर्थनीति, विदेश नीति, मौलिक हकहरुको व्यवस्था गरेको छ । संविधान नै समाजवाद कार्यान्वयनको पहिलो आधार हो । यहाँ संविधान कार्यान्वयन नै समाजवाद स्थापनाको प्रथम आधार हो भन्न डराएको जस्तो देखिन्छ । संविधान सभावाट बनेको संविधानलाई आवश्यकता र औचित्यको आधारमा परिमार्जित गर्दै समाजवादका निम्ति अनुकुल बनाउँदै जानुपर्ने कुरा छदैँछ । समाजवाद हासिल गर्नका निम्ति विभिन्न चरणहरु पूरा गर्नुपर्ने हुन्छ । समाजवाद निक्कै लामो यात्रा भएकाले यो गतिशील राजनीतिक दर्शनका रुपमा ब्याख्या गरिनुपर्छ । समाजवादको मोडल समयानुकुल भएर तय हुँदै जान्छ भन्ने कुरा भुल्न हुँदैन। सत्ता र राजनीतिक शक्तिले विभिन्न काल खण्डमा यो यो काम गर्ने, यो क्षेत्रमा समाजवाद लागू गर्ने भनेर प्रतिवद्धाता जनाउन आवश्यक हुन्छ । जसरी रातपछि बिहान हुन जरुरी हुन्छ, त्यस्तै पूँजिवादपछिको युग भनेको समाजवाद नै हो । ढिलो चाँडो समयको कुरा हो ।

समाजवादका सन्दर्भमा २०७९ भदौ १९ गते माक्र्सवादी अध्ययन केन्द्रले ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठिको आयोजना गरेको थियो । उक्त विचार गोष्ठिमा वक्ताहरुले उठाएका केही सन्दर्भहरुलाई केलाउँदा देहायका निश्कर्षहरु भेट्न सकिन्छ ।

विषय प्रवेश:

राजनीति विज्ञानमा एउटा भाष्य छ, ‘शासन आफैमा सुन्दर र कुरुप दुवै हुँदैन ।’ तर, विश्वमा आदिम साम्यवादी युग, दास युग, सामान्तवादी युगहुँदै पूँजिवादी युगसम्म आइपुग्दा विश्वमा शासन सक्ताका विरुद्ध अनेक आन्दोलन र क्रान्ति भए । क्रान्ति र आन्दोलन मात्रै भएनन् । सयौं, हजारौं मात्रै होईन, करोडौँ मनुष्यले ज्यान गुमाउनु पर्यो । आखिर किन ? शासन आफैमा राम्रो र नराम्रो हुँदैन भन्ने राजनीति विज्ञानको भाष्यलाई कुन कोणबाट हेरियो भन्ने कुराले अर्थ राख्छ ।शासन सञ्चालन कर्ता वा पक्ष कत्तिको जनप्रिय छ ? र थियो ? वा हुन्छ ? त्यसमा माथिको सन्दर्भले काम गर्छ । नभए जापानमा राजा, बेलायतमा राजा, मुस्लीम देशहरुमा राजा, हाम्रो देशमा त्यहि राजाका विरुद्ध २००७ सालपछि दोस्रो जनआन्दोलनसम्म जनसंघर्ष गर्नुपर्यो ।

अन्य देशमा एकात्मक शासनले काम गर्ने, हाम्रो देशमा विकेन्द्रीकरण शासन व्यवस्था हुनुपर्ने आखिर किन ? किन कि हाम्रो देशका शासकहरुले जनतालाई ग्राण्ड न्यारेटिभबाट हेरे । आफ्नो इतिहास पढाए । नेपाल रहे पो, नेपाली रहने हो । मथलव जब राजतन्त्र रहन्छ तब न नेपालीहरु रहन्छन् ! यस्ता खालका आख्यानहरु निर्माण गरिए । हुकुम प्रमाङ्गीका आधारमा घोषित कविहरुले यस्ता कविता लेखे, गीत लेखे । त्यसकै परिणाम स्वरुप जनताले २४० वर्षे इतिहास बोकेको राजसंस्था हुत्त्याइदिए । मुल भाष्यमै फर्किने हो भने शासक गतिला भएनन् । शासक जनताप्रति उत्तरदायी भएनन् । त्यसकै परिणाम स्वरुप नेपालको राजनीतिक इतिहासमा विभिन्न चरणमा आन्दोलनहरु भए । राणाहरु ढले । राजाहरु ढले । गणतन्त्रवादीहरुका विरुद्ध नारा लाग्न थालेका छन् ।

घनश्याम भुसालले देखेको प्रलय के हो ?

आजभन्दा करिब दुई महिना पहिले बागबजारको रत्न पुस्तक हाउसमा प्रा.डा. सुरेन्द्र केसीसँग अचानक भेट भयो । उनी पुस्तक पसलको मुख्य भागतिर आउँदै थिए । त्यहिबेला दुई जना महिलाहरुले उनलाई नमस्कार गर्दै फोटो खिचाउन थाले । मैले हेरिरहे, मतर्फ फर्केर डा. केसीले भने, ‘नेताजि यो आकर्षण नेताले देश विगारे हो ।’ डा. केसी हक्की स्वभावका व्यक्ति, त्यसैमा नेपाली कम्युनिष्ट आन्दोलनको ज्ञाता पनि । मैले जवाफमा भने, ‘तपाईंप्रतिको आकर्षण तपाईंकै क्षमताले निम्त्याएको परिणाम हो । नेताले देश बिगारेर… भन्ने कुरा आंशिक सत्य हो ।’ उनले पुनः थपे, ‘नेताले आशाका कुरा गर्छन्, बौद्धिक मान्छेहरुले चिन्ता र निराशा देख्छन् भन्थे हो रहेछ ।’ केही भलाकुसारी भयो । सन्चो बिसन्चो र सोधापुछ भयो । त्यसैका बीचमा मैले भने, ‘आजको जुन निराशा र चिन्ता छ, यो थप बढेर जानेछ । केही वर्षभित्र देशमा अझैं आजको भन्दा थप निराशा देखिने छ । किन कि दलाल पूँजिवाद एशियातर्फ केन्द्रीकृत भइरहेको छ । शक्ति राष्ट्रहरुको सामरिक गतिविधि बढिरहेका छन् । हाम्रो देशका शासकहरु सुध्रिने या सकिने ? यो पनि हुन बाँकी छ…यस्तै यस्तै ।

खैर, घनश्याम भुसालले १९ भदौ २०७९ मा माक्र्सवादी अध्ययन केन्द्रले राजधानीको प्रज्ञा भवनमा आयोजित विचार गोष्ठिमा त्यहि दुई तीन महिना अघि डा.केसीसँग भएका वार्तालापहरुमा उठाइएका विषयहरुमाथि विस्तार गरे । दलाल पूँजिवादले आगतमा निम्त्याउने खतराका बारेमा भुसालले निकै महत्वपूर्ण कुराहरु बोले । यदि राजनीतिक दल र खासगरी नेतृत्व सचेत भएन भने आगामी ३/४ वर्षभित्र भयंकर खतरा आइलाग्ने ठोकुवासमेत गरे ।

नेपाली समाजवादको मार्गचित्रबारेमा बोल्दै उनले पञ्चायत, राजतन्त्रदेखि २०७२ सालको भूकम्पसम्म विभिन्न संटकहरु देखा परेको र त्यो समयमा नेताहरु इमान्दार बनेका कारण सम्पूर्ण शक्ति संविधान निर्माणमा लगाएको स्मरण गरे । २०६८ पछि पुनः नेपाल राजनीतिक अस्थिरताको गति बढिरहेको तर्फ इंगित गर्दै भुसालले सचेत बन्ने नेताहरुलाई आग्रह गरेका छन् । राजनीतिक दलहरुले समाजवादी कार्यक्रम तय गर्न नसकेको भन्दै बारम्बार यसका बारेमा बोल्दा पनि कसैले ध्यान नदिएको गुनासो गरे । उनले भनेका छन्, ‘हरेक पार्टीमा घुस नखाने नेता कार्यकर्ता र सरदार जस्तो नेतृत्व हुन भएन । पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो हुनुपर्यो । पार्टीको नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध सरदार र दासहरुको जस्तो हुनु भएन । अरब र मलेसियाबाट नेपालीका कामदार छोराछोरीको अन्तिम किस्ता बोकेर हाम्रो प्लेन जुनदिन हाम्रो विमानस्थलमा ल्यान्ड गर्छ, त्यही दिन समाजवादी क्रान्तिको पहिलो चरण पूरा हुन्छ । घुस नखाने र सरदार नभएको पार्टी भयो भने मुलुकले आफैले कमाएर खान सक्छ । त्यसका लागि हामीले जडता त्याग्न सक्नुपर्छ । नेकपा (नेकपा) विभाजन ऐतिहासिक गद्धारी भएको छ । त्यसको हिसाब इतिहासले गर्ला ।’

भूसालले एमाले पार्टीले मदन भण्डारी र नेकपा माओवादीले जनयुद्धको जडता छोड्नुपर्नेमा जोडले बोलका छन् । जुजडा समाजवाद कार्यान्वयनको प्रमुख चुनौती हो । एमालेमा मदन भण्डारीका नाममा ठूलो जडता छ । मदन भण्डारीले सबै गरिसक्नु भयो हामीले केही गर्नु पर्दैन भन्ने खालको जडता छ । भूसालले भण्डारीलाई सुद बनाउने प्रयास भएको भन्दै अगाडि भने, ‘मदन भण्डारीलाई हामीले विकास गर्न छाडिसकेका छौं । मदन भण्डारीलाई सुद बनाउने अनि कुद खाएर बस्ने, विचार, सिद्धान्तको केही कुरा छैन । यो जडताबाट एमाले निस्कनुपर्याे । माओवादी जनयुद्धको धङधङी छोड्नुपर्यो।’

प्रचण्डको सडक चेतावनी

सोही विचार गोष्ठिमा ढिलोगरी पुगेको माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थिरताको प्रमुख कारण संसदीय शासन प्राणी भएको निश्कर्ष सुनाए । उनले मेसिन नै गतिलो नभएपछि सामान पक्का कसरी उत्पादन हुन्छ ? भन्दै प्रश्न गरे ।विचार गोष्ठीमा उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएका देखेर आफूलाई सबैभन्दा बढी छट्पटी भएको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफ्नो नेतृत्वमा सडक आन्दोलन सुरु गर्ने चेतावनी दिए ।

प्रचण्डले भनेका छन्,‘कम्युनिस्टहरूलाई एक ठाउँमा राख्ने, बलियो शक्ति निर्माण गर्ने । संविधानले समाजवादको यात्रातर्फ जाने परिकल्पना मात्रै गरेको छ । साँच्चै समाजवादको ठोस् भिजन र कार्ययोजनासहित उत्पादन वृद्धि, श्रम र सांस्कृतिक रुपान्तरण स्थानीय तहदेखि नै एउटा नयाँ आन्दोलन सिर्जना गर्ने उद्देश्य मेरो दिमागमा थियो । मैले जतिखेर माओवादी केन्द्रको अध्यक्षको हैसियतले एमालेका अध्यक्ष केपी ओलीजीसँग वाम गठबन्धन गरौं, कम्युनिस्ट एकता गरौं, देशमा वामपन्थी जनमत धेरै ठूलो छ । हामीले देशमा राजनीतिक स्थायित्व पनि र समाजको महानयात्रातिर जान सकिन्छ । अब बौद्ध भिक्षु रहेसम्म घण्टी बजाउने हिसाबले कहीँ पनि पुग्दैनौं । हामी आग्रह पूर्वाग्रह छोडदिउँ, हामफालौं भनेर एकचोटी मैले नै भनेको हो । त्यो अरुले भनेको होइन । मैले निरन्तरतामा क्रमभंगता गर्नकै लागि त्यो भनेको हो । तर, त्यो सफल भएन । सफल हुन दिइएन । धेरै कारणहरू छन् । त्यत्तापटि जान्न म अहिले । मेसिन बेठिक राख्ने र त्यसबाट उत्पादित वस्तु राम्रो खोज्ने हो भने त्यो हुन सक्दैन । समस्या मेसिनमा छ । तपाईँ अहिलेको निर्वाचन प्रणालीलाई कायमै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त विकृतिमुक्त समाज निर्माण गर्ने कुरा गर्नुभयो भने त्यो सम्भव छैन । तपाईँले निर्वाचन प्रणाली बदल्नै पर्छ।’

अन्यत्यमा, उक्त कार्यक्रममा धमेन्द्र बास्तोलाले आफूलाई सच्चा कम्युनिष्ट भएको दावी गरेका थिए । उनले राष्ट्रपतिय शासन व्यवस्थाका बारेमा आफूहरु निरन्तर आन्दोलनमा रहेको बताए । त्यस्तै घनश्याम भुसालले लामो ब्याख्यासहित देश थप अस्थिरता र असहतामा धकेलिने भविष्यवाणी गरे । उनले देखेको खतरा आम रुपमा देखिँदैछ । आर्थिक संकट, राजनीतिक संकट, नैतिक संटकहरु यसका उदाहरणहरु हुन् । जुन संकटहरु दलाल पूँजिवादले निम्त्याएका संकटहरु हुन् ।

माधव नेपालले नेपाली राजनीति, भू-राजनीति, सामरिक स्वार्थ जस्ता कुराहरु र विश्वका अन्य राष्ट्रपतिय शासन व्यवस्था मुलकका जनताको अनुभवलाई स्मरण गराउँदै नेपालमा राष्ट्रपतिय शासन व्यवस्था उपयुक्त नहुने बताए । प्रचण्डले राष्ट्रपतिय व्यवस्थाका निम्ति आगामी चुनावपछि आन्दोलनमा उर्तिने चतावनी दिए । विद्यमान निर्वाचन प्रणालीप्रति प्रचण्ड कडा रुपमा प्रस्तुत भए ।

प्रचण्डले यसरी भनि रहँदा उनी नामुद ठेकदारको घरमा बसिरहेको भुल्छन्। निर्वाचन आयोगले चुनावमा तामझाम नगर्न, २५ जनाभन्दा बेसी मानिस जम्मा गर्न नपाईं प्रस्ताव ल्याउँदा उनी बोल्दैनन् । चुनावी खर्च कटौतीको व्यवस्था प्रचण्ड नै अवज्ञा गर्छन् । तर, उनै प्रचण्ड भन्छन् कि मेसिन गतिलो छैन । प्रचण्डको यो सडक चेतावनीभित्र धेरै सन्दर्भहरु लुकेका हुन सक्छन् । उनीभित्रको यो अन्तरविरोधको अर्थ हुन सक्छ । सत्ता गठबन्धन आगामी निर्वाचन पछिसम्म पनि रहन्छ भन्दै हिड्ने प्रचण्ड सडकमा जाने कुरा गर्दैछन् । यो ठूलो अन्तरविरोध हो । साना दलहरु मिलाएर सरकार गठन गर्न सकियोस भन्ने रणनीतिमा रहेको कांग्रेस र आफूबाहेकको साथमा सत्ता गठन गर्न नसकोस् भन्नेमा प्रचण्ड अघि बढेको देखिन्छ ।

उनको उक्त रणनीति कमजोर बन्दै गएको आकंलनमा उनले सडक रोज्ने चेतावनी दिएका पनि हुन सक्छन् । खैर, उक्त मञ्चले मागेको समाजवादको नेपाली मार्गचित्र वक्ताले दिन त सकेनन् । तर, एक आपसमा घोचपेच भने मज्जाले गरेका थिए । यति वर्षभित्र यो क्षेत्रमा समाजवाद लागू गर्न सक्छौं, यो व्यवस्था हामीले ल्याएको हो, अस्तव्यस्त अवस्था बदल्नका निम्ति हामीलाई नै विश्वास गर्नुहोस् भनेर जनतालाई जोडले बोल्न नसक्नु आजको कमजोरी हो । भ्रष्टाचार मुक्त नेपाल, सुशासन युक्त नेपाल बनाउने राजनीतिक दलहरुको लक्ष्य हुनुपर्छ।