सुदुरपश्चिम। नेपाली कांग्रेसले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको जिल्ला कार्य समितिको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव लड्न कांग्रेस एक्लै सक्षम रहेको भन्दै अरु पार्टीसँग गठबन्धन नगरेर मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो।
डडेल्धुरा पार्टी सचिव हेमराज चटौतले वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमासमेत जिल्लामा गठबन्धन नभएको हुनाले अगामी निर्वाचनमा पनि एक्लै लड्ने निर्णय गरिएको जानकारी दिए। उनकाअनुसार गठबन्धन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई स्वागत गर्दै डडेल्धुरामा मित्रवत् प्रतिस्पर्धा गर्न दिन प्रदेश र केन्द्रीय कमिटीलाई अनुरोधसमेत गरिएको छ।
डोटीमा कांग्रेसले गठबन्धन नगर्ने
त्यस्तै डोटीमा नेपाली काँग्रेसले कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। नेपाली काँग्रेस डोटीका सचिव गणेश खड्काले डोटीमा काँग्रेस एक्लैले चुनाव लड्ने निर्णय गरेको पुष्टि गरे।
उनका अनुसार बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। ‘गठबन्धनको कुनै आवश्यकता र औचित्य छैन’, उनले भने, ‘डोटीमा हामी एक्लै लड्छौं। आज बैठकले उम्मेदवार बन्न आकांक्षीहरू पनि सिफारिश गरेको छ।’
केन्द्रीय गठबन्धनको निर्णयविपरीत डोटीमा एकल चुनाव लड्ने निर्णय डोटी कांग्रेसले गरेको हो। केन्द्रीय गठबन्धनले सबै जिल्लामा गठबन्धन र भागबण्डाका आधारमा निर्वाचनमा जाने निर्णय गरेको थियो। गठबन्धनका ‘हेभिवेट’ नेताको निर्वाचन क्षेत्रका रुपमा परिचित डोटीमा भागबण्डा र टिकटको कुरा नमिल्ने देखिएपछि यस्तो निर्णय गरिएको बताइएको छ।