‘गिरि विचारले समाजवादी र व्यवहारले मुक्तचेता’



काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व.नेता प्रदीप गिरीलाई उन्मुक्तचेताको रूपमा स्मरण गरेका छन्।

बिहीबार काठमाडौंमा भएको १३ दिनको औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन्।

उनले स्व. गिरि विचारले समाजवादी र व्यवहारले मुक्तचेता रहेको भन्दै स्मरण गरे। वरिष्ठ नेता पौडेलले कांग्रेसको इतिहासमा नै पद र सत्ताको लोभ नगर्ने पहिलो नेताकाके रूपमा स्मरण गरे। पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईमा पनि पद र सत्ताको लुप्तता नरहेको तर सत्ताको खेल अलिअलि खेल्नुभएको भन्दै उनले स्व. नेता भट्टराई भन्दापनि स्व. नेता गिरी सत्ताको खेलमा नलागेको बताए। उनले आफूलाई लागेको कुरा निर्धक्कसँग जसको सामुमा पनिराख्ने र उहाँको व्याख्यामा कम्युनिस्टहरू पनि स्तब्ध भएर सुन्ने प्रतिभा रहेको उल्लेख गरे।

पार्टी महामन्त्री गगनकुमार थापाले स्व. गिरीमा राजनीतिक दल रूपान्तरणका माध्यम भएनन्, सत्ता प्राप्तिका औजार मात्र भएको चिन्ता रहेको बताए। उनले स्व. नेता गिरीलाई राजनीतिक दलका कार्यकर्तामा ज्ञान र परिवर्तनको भोक हुनुपर्नेमा सत्ता भोगको भोग मात्रै भयो भन्ने चिन्ता रहेको बताए। उनले सत्ताभोगमा लिप्त नेता र कार्यकर्तालाई रुपान्तरणको भोक ल्याउनसके मात्रै स्व. गिरीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए। उनले स्व.। गिरीका निम्ति सबैले भोट हाल्न पाउनु प्रजातन्त्र थिएन, हार्नेको पनि भोट गनिनु प्रजातन्त्र रहेको र बोल्न पाउनुमात्रै स्वतन्त्रता नभई सबैले बोलेका कुराको अर्थ रहेमात्रै स्वतन्त्रता हुने उनको चिन्तन रहेको स्मरण गरे। महामन्त्री थापाले स्व. गिरीका मौलिक कुरालाई कसरी जोगाउन सकिन्छ भन्नेकुरा मुख्य विषय भएको बताए।

स्मृति सभामा बोल्दै कांग्रेसका नेता प्रकाशमान सिंहले स्व. गिरीको आश्रमलाई प्रजातान्त्रिक समाजवादको पाठशालाका रूपमा विकास गर्नुपर्ने बताए। उनले गिरिको आश्रमलाई प्रजातान्त्रिक समाजवादको पाठशालाका रूपमा विकास गर्नसकेमात्रै स्व. नेता गिरीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए। उनले नेपालको राजनीतिमा निश्चित दिशा दिनसक्ने क्षमता भएको व्यक्तिको निधनले नेपालको राष्ट्रिय राजनीतिलाई नै ठूलो क्षति भएको भन्दै स्मरण गरे।

स्मृति सभामा बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस संस्थापक नेता बिपी कोइरालापछिकै माक्सवादी र प्रजातन्त्रको व्याख्या गर्नसक्ने व्यक्तित्वको रूपमा स्मरण गरे। उनले स्व. नेता गिरी आफ्नै पार्टीमा भएका गलत कामको पनि विरोध गर्ने र जो कोही सामु पनि निर्धक्क भएर आफ्ना भनाइ राख्ने नेताको रूपमा रहेको बताए।