काठमाडौँ। कक्षा १२ को नतिजा १५ भदौभित्र प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको रोडम्याप थियो।
बोर्डका केही पदाधिकारीहरूले तीज (१३ भदौ) का दिन नतिजा प्रकाशन गर्ने तयारी भएको भन्दै सञ्चारमाध्यमलाई सूचना सम्प्रेषण गरे । तर, प्राविधिक काम नसकिएको भन्दै बोर्डले बिहीबारसम्म पनि नतिजा प्रकाशन गरेको छैन । बोर्डले तीन दिनदेखि लगातार नतिजा प्रकाशन हुने भन्दै आइरहेको छ । तर, अन्तिममा आज नसकिने जवाफ दिने गरेका छन् । बोर्डले आफैले तोकेको मिति पनि घर्किन पुगेको छ ।
प्राविधिक काम सकिएपछि बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने निर्णय गर्नेछ । यस पटक नन ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिँदैछ । त्यसका लागि सैद्धान्तिकतर्फको छुट्टै नम्बर र प्रयोगात्मकको छुट्टै नम्बर राखिनेछ । दुवैतर्फको नम्बर जोडेर विद्यार्थीलाई लेटर ग्रेटिङ सिस्टममा समावेश गरिने अध्यक्ष शर्माले बताए ।
गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए । बोर्डले पहिलो पटक ‘नन–ग्रेडिङ’ सिस्टम अनुसार नतिजा प्रकाशन गर्न लागेको हो । यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
नतिजा प्रकाशित भएपछि बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। त्यसका लागि बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ। त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।