काठमाडौँ। कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज (मंगलबार) सार्वजनिक नहुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो।
तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । ‘दिनभर लगाएर पनि टेक्निकल प्रोसेस सकिएन। अझै केही समय लाग्छ। त्यसपछि पनि प्रोसेसिङ हुन मात्रै ३र४ घण्टा लाग्छ। आज समय अभावले नतिजा प्रकाशन गर्न नसकिने भयो,’ अध्यक्ष शर्माले भने।
सम्भवतः भोलि बुधबार नतिजा प्रकाशन गर्न सकिने अध्यक्ष शर्माले बताए। ‘भोलि कति बेला टेक्निकल काम सकिन्छ । त्यसपछि सम्भवतः भोलि सार्वजनिक गर्छौ होला । अहिले नै यहि मितिमा सार्वजनिक गर्छौ भनेर भन्न सकिने अवस्था छैन्,’ अध्यक्ष शर्माले भने। बोर्डले आज नतिजा प्रकाशन गर्ने तयारी गरेको थियो । त्यसका लागि साढे ३ बजे बोर्ड बैठक समेत बोलाएको थियो। तर, प्राविधिक प्रक्रिया नै नसकिएकाले आजलाई रोकिएको हो।
बोर्डले आजै मोबाइलबाट नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो। बोर्डले https://neb.ntc.net.np/ मा गएर नतिजा हेर्न सकिने भनेर सूचना प्रकाशन गरेको थियो। त्यस्तै आईभीआर सिस्टम अन्तर्गत लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर नतिजा हेर्न सकिनेछ । भने १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ।