हुम्ला। हुम्लाको सर्केगाड गाउँपालिकाको कार्यलयमा तोडफोड भएको छ। गाउँपालिका अध्यक्ष ठान बहादुर रोकायाको कार्यकक्षमा तोडफोड भएको हो ।
करार कर्मचारीको विषयलाई लिएर रोकायाको कार्यकक्षमा तोडफोड गरेको एकजना प्रत्यक्षदर्शीले बताए । करार कर्मचारीको परीक्षा संचालन गर्दा आफन्तलाई जागिर लगाउने हल्ला चलेकाले सर्केगाड सांयाका हिरा विकले तोडफोड गरेको नाम नबताउने शर्तमा उनले जानकारी दिए ।
गाउँपालिकाका प्रशासकिय प्रमुख नर बहादुर रावतले कुनै सेटिङ नभई परीक्षा निष्पक्ष रुपमा संचालन भएको बताए । रावतले भने, “हामिले परिक्षा निष्पक्ष रुपमा संचालन गरेका छौँ । आरोपको कुनै तुक छैन, जो पास भयो उही जागिर खान्छ ।” उक्त व्यक्तिले आफ्नो दाइले खरिदार पहिलो पत्रमा मात्रै नाम निकालेपनि दाईलाई नै जागिर दिनुपर्ने भनेर तोडफोड गरेको रावतले बताए ।
सर्केगाड गाउँपालिकाले ३७ करार सेवाका पदका लागि विज्ञापन गरेको थियो । करार शिक्षकको दोस्रो पत्र बाहेक सबै पदको परीक्षा सकिएर अन्तर्वार्ता मात्रै बाँकी रहेको छ ।