नेपालद्वारा केन्या पराजित



काठमाडौँ। नेपालले केन्यालाई तेस्रो टी-२० आईमा ४ विकेटले पराजित गरेको छ।

यस जितपछि पाँच खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ। यसअघि पहिलो खेल नेपालले ५ विकेटले जित्दा दोस्रो खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको थियो। चौथो खेल सोमबार हुनेछ।

केन्याले दिएको १५६ रनको लक्ष्य नेपालले १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै टी-२० आईमा डेब्यु गरेका अर्जुन साउदले ३५, रोहित कुमार पौडेलले २९ र पवन सर्राफले २० रन जोडे। आदिल आलमले १६ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको थियो। डेब्युटान्ट अर्जुन साउद र पवन सराफले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे। तर लगातार तेस्रो खेल खेलेका पवन सर्राफले ठूलो स्कोर बनाउन सकेनन। उनी १२ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाएर आउट भए।

नियमित ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा खेल्दै डेब्यु गरेका युवा विकेटकिपर ब्याटर अर्जुन साउदले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४२ रनको साझेदारी गरे । अघि बढेर खेल्न खोज्दा उनी ११औ ओभरमा बोल्ड भए। अर्जुनले ३१ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ३५ रन बनाए।

चौथो नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र सिंह ऐरीले ५ बलमा ६ रन मात्र जोडे। यसअघिका दुई खेलमा पाँचौ नम्बरमा ब्याटिङ गरेका दीपेन्द्र लामो समयपछि चौथो स्थानमा पर्किएपनि लामो समय क्रिजमा टिक्न सकेनन्। यसअघि चौथो नम्बरमा ब्याटिङ गरेका रोहितकुमार पौडेलले भने आज पाँचौ नम्बरमा ब्याटिङ गरे।

ज्ञानेन्द्र र रोहितले चौथो विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । रोहितले १८ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २९ रन बनाए । अर्धशतकबाट चार रनले चुकेका ज्ञानेन्द्रले ४१ लब खेल्दै ४ चौका र १ छक्का मद्दतमा ४६ रन बनाए । आक्रमक ब्याटिङ गरेका आदिल आलमले ७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाए । ठूलो सट हान्ने चक्करमा आदिल आउट भएका थिए । आरिफ शेखले अविजित ४ रन बनाए ।

केन्याका लागि युगेन ओचिएङ र भिराज पटेलले २-२ विकेट लिए । त्यसअघि राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको थियो । यो जोडीले तेस्रो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरे । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए ।

यस्तै करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५५ रन जोडे । केन्याले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो । पावर प्ले मा नेपालले केन्याका दुवै ओपनरलाई आउट गरेपनि पटेल र करिमसुम नेपाली बलर कमजोर देखिए । कोलिन्स ओबुया १४ र सुकदिप सिंह ८ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामी र बदिल आलमले एक(एक विकेट लिए ।