‘शान्ता चौधरी’ कठोर संघर्षको बुलन्द आवाज



०४ भदौ २०७९ मा समाजवादी विचारक प्रदिप गिरिले संसार छोड्नु भएको दिन हो । समाजवादी चिन्तक एवं माक्र्सवादी विचारधाराका प्रशिक्षक गिरिको निधनले स्तब्ध बनाएको थियो । भदाै ०५ गते कांग्रेस केन्द्रीय कार्यालयमा अन्तीम श्रद्धाञ्जलीका निम्ति उहाँको प्रार्थीव शरिर राखिएका दृश्यहरु टिभि र अनलाइनहरुले देखाई रहेका थिए । ति दृश्यहरु देखेर अनायाशै आँसुहरु झर्न पुगेका थिए । देश तथा विदेशमा रहेका के कांग्रेसीजन, के कम्युनिष्ट ? सबैले उच्च सम्मानका साथ गिरिको निधनप्रति गहिरो दुःख व्यक्त गरिरहेका थिए । त्यो दिन निक्कै पीडादायी बनेर बित्यो ।

कुराे भदौ ६ गतेको हो । भृकुटिमण्डपभित्र पुराना किताब पाइने एउटा पसल छ । जहाँ मुल्यको आधा दाममा किताब किन्न पाईन्छ । भेटघाट हुने र चिया गफ गर्ने चौतारीका रुपमा परिचित छ भृकुटिमण्डप । त्यहिँ पुगेको छेको पारेर कर्णाली सन्देशका प्रकाशक उमेश योगी र म पुराना किताब पाइने पसलमा पुग्यौं । किताब भनेपछि हुरुक्क हुने । त्यहिमाथि सस्तोमा रोजेको किताब पाएपछि झन् खुशी । यत्रतत्र किताबहरुमाथि नजर दौडाउँदै गर्दा शान्ता चौधरी (कमलहरीदेखी सभासद्सम्म) भेटियो । २०७० मा प्रकाशित भएको उक्त किताब त्यो बेला पैसा अभावकै कारण किन्न सकेको थिइन । शान्ता कमरेडको बारेमा समाचार माध्ययममा पढेर उहाँको संघर्षको गाथा थोरधेर जान्न पाइएको थियो । त्यसपछिको अस्तव्यस्त जीवनको यात्रामा त्यो किताब नै करिब भुलि सकेको रहेछु । भदौ ०६ गते त्यही किताबमाथि नजर पुग्दा खुशी हुँदै यो किताब लिनुपर्छ भनेर उमेशलाई संकेत गरें । त्यो दिन हामीले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले लेखेको (कृषिक्रान्ति र समाजवाद, नरेन्द्रराज प्रसाईको साहाना प्रधान र भारतीय लेखक इलार भट्टको लडेंगे भी रचेंगे भी) लगायत पुस्तकहरु किन्यौं । इलारको बाहेक पुस्तक मैले बोके । घरमा पुग्दा रुपा (श्रीमती) कमरेडले तरकारी बोकेर आउनु छैन ? जहिले किताब बोकेर आउने ? भन्दै प्रश्न गरिन् । मैले हाँस्दै,, पैसा भए पो तरिका ल्याउनु भनेर जवाफ फर्काए । बिचरा रुपालाई उमेशले किनिदिएका पुस्तक हुन् भन्ने कुरा के थाहा । खैर, पुस्तक किनेको दिन, पुस्तक प्राप्त गरेका दिन औधि खुशी हुन्छु । पुस्तकसँग अनौठो तल बसेको छ । सकेसम्म पुस्तक किनेर पढ्छु, नसकेको दिन मागेरै भएपनि पढ्ने कोसिस गर्छु ।

८/९ वर्ष पहिले पढ्न चाहेको पुस्तक शान्ता चौधरी पढ्न सुरु गरें । दास्रो पटक कोरोना संक्रमण भएपछि स्वास्थ्य खासै कुशल छैन । अस्वस्तताका बीच मैले शान्ता कमरेडलाई पढें । प्रदिप कमरेडको निधनबाट मर्माहत बनेकै छेकोमा शान्तालाई पढेपछि दुई/तीन पटक रोएँ । कठोरमा साह्रै कठोर र नरमलाई नरम बन्ने बानी छ । कुनै पनि किताब र फिल्म हेर्दा वास्तविक दुनियाँसँग जोडेर हेर्न बानी छ । नारायण रायमाझी दाईको प्रदेशी फिल्म हेरेर धुरुधुरु रोएका थियौं । संयोगबस शान्ता कमरेडका भाई बिहिनीको संख्या र मेरा भाई बहिनीहरुको संख्या उस्ता उस्तै रहेछौं । शान्ता कमरेड ८ वर्षको कलिलो उमेरदेखि कमलरी बन्नु पर्यो । उहाँले भोगेका दुःखका सामु हामीले धेरै प्रताडना खेप्न परेन । यतातिर नलागौं ।

शान्ता कमरेडलाई पढेपछि मनमा अनेकन प्रश्नहरु उब्जेका छन् । कुनै दिन भेट भएछ भने सोध्ने नै छु । आजका दिनसम्म उहाँको र मेरो व्यक्तिगत चिनजान छैन । न त भेटघाट नै भएको छ । उहाँ अहिले एमालेमा आवद्ध हुनुहुन्छ भने म एकीकृति समाजवादीमा । उत्पीडनको भट्टिबाट बनेको शान्ता कमरेडको परिचय दिनप्रति दिन व्यापक बन्दैछ । उहाँले विद्यावारी गर्ने लक्ष्यका साथ पढिरहनु भएको छ । बाल्यकालमा पढ्न नपाएकी शान्ता पाको उमेरमा बुझेर, विश्लेषण गरेर पढ्दै हुनुहुन्छ ।

उहाँले आफ्को विगतलाई समेटर उक्त किताब लेख्नु भएको हो । थारु समूदायको महान चाँड माघीमा कमलरी साट्ने तथा मोलतोल गर्नेदेखि आफूले १८ वर्षसम्म कमलरी जीवन विताउँदाका मर्माहत क्षणहरु किताबमा समावेश छन् । अभाव र दवावबीच शान्ता कमरेडले आजको जीवन र गरिमा हासिल गर्नु भएको हो । जमिनदारको घरको काम, श्रीमानको संकालु नजर र सन्तानकी आमा । त्यसैमाथि भूमिहिन वर्गको हितका निम्ति अघि सारिएको आन्लोदन । २०६१ पछि भूमि अधिकार मञ्च दाङको अध्यक्ष भएर सनसुरीको भेलामा आमाले दिएको ५० रुपैयाँको कठिन यात्रा पढ्दा अभावमा विगत विताएकाहरुको मथिङ्गल घुम्छ । दाङको घोराहीबाट सुनसरीका लागि साथीहरुसँग पहिलो पटक गाडिमा चढेदेखि पैसाकै अभावमा साथीहरुले खाना खाउभन्दा खान मन छैन भनेर भोकै यात्रा गरेको प्रसँग कारूणीक छ । सिक्न लायक छ । यस्ता असहजतामा पनि किञ्चित विचलित नभएर लक्ष्यलाई डकमगाउन नदिएर शान्ता कमरेड आजका दिनसम्म राजनीतिमै हुनुहुन्छ । उहाँलाई समाजवादी मोर्चामा उभिनुपर्ने मान्छेका रुपमा उहाँको संघर्षले बताउछ ।

सानो उमेरमा कामले थिचिनु परेको र पछि हुँर्किदै गएको जवानीले धोका दिएको प्रसँग शान्ताले वेजोडले उठाउनु भएको छ । यौन शोषणबाट बच्नकै लागि विवाह गरेको प्रसँग कम्ता मार्मिक छैन । कमलरीहरुलाई जमिनदार र उनीहरुका छोराहरुको बलात्कारपछि गर्भवती बनाएर सोझो थारुसँग विवाह गराइ दिने गरेको दावी पुस्तकमा पढ्न पाईन्छ ।

शान्ता कमरेडले विवाहपछि भोगेको दुःखहरु पढ्दा हरकोहीको मन शान्त रहन्न । न्यानो कपडा र स्याहारको कमीका कारण सन्तानको मृत्युदेखि श्रीमानले रक्सी खाएर हात भाचेकोसम्म, जमिनदार्नीको सिरानको २५ रुपैयाँलाई एक रुपैया ठानेर मिठाइ किनेर खाएपछि खाएको कुटाई झन्…उफ कस्तो थियो होला शान्ता जस्तै अनेकौं कमलरीहरूले भोगेको दु:ख? २०३७ सालमा जन्मेकी शान्ताले ७ जना जमिनदारको घरमा १८ वर्ष जीवन बिताउनु परेको थियो । सबै जमिनदार एकै किसिमका नभएको शान्ताको भोगाइले भन्छ ।

राजनीतिक यात्राका क्रममा पहिलो पटक माधव नेपाल कमरेड, त्यसपछि प्रकाश ज्याला, युवराज ज्ञवालीलाई भेटेको पुस्तकमा स्मरण गरेकी छन् । कमलरीदेखि सभासद्सम्मको प्रस्तुतीले पढ्दा कुनै अल्छि लाग्दैन । बरु यस्ता संघर्षशील नारीहरु राजनीतिको मुल प्रवाहमा आउन सक्छन् कि सक्दैनन् ? संघर्षलाई भुल्ने त होइनन् ? समाजवादी विचारमा आफूलाई समाहित गर्न सक्छन् कि सक्दैनन् ? कतै राजनीतिबाट विचलित हुन्छन् कि भन्ने चिन्ता भने लाग्छ ।