माओवादीले गर्नुपर्ने काम हर्कले गरिरहनु भएको छ: प्रचण्ड



धरान। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानरका मेयर हर्क नेम्वाङले सुरु गरेको विरुवारोपण कार्यक्रममा सहभागिता जनाएका छन्।

उनले वरिष्ठ कलाकार जेबी टुहुरेको स्मृतिमा धरानमा विरुवा रोपेको बताए । विरुवारोपण कार्यक्रममा संक्षिप्त प्रतिक्रिया जनाउँदै प्रचण्डले कम्युनिष्टहरुले र अझ खासगरी माओवादीले गर्नु पर्ने काम हर्कले गरेको बताए। ‘सिंगै देशले उहाँको कामलाई बडो गम्भीरतापूर्वक हेरेको छ,’ प्रचण्डले भने, ‘हामी कम्युनिष्टहरुले र अझ खासगरि माओवादीले गर्नु पर्ने काम उहाँले गरिराख्नु भएको छ।’

उनले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई हर्कको कामबाट प्रेरणा लिन समेत आग्रह गरे। ‘म पार्टीका साथीहरु र देशका सबै श्रमजीवी जनतालाई पनि हर्कको व्यवहारबाट, उहाँको आचरणबाट प्रेरणा लिन अनुरोध गर्न चाहान्छु,’ प्रचण्डले भने।

विरुवारोपण कार्यक्रममा धरानका मेयर हर्क, उपमेयर अइन्द्र बिक्रम बेघा लगायतको सहभागिता थियो । धरानका लागि खानेपानीका मुहान संरक्षण गर्ने भन्दै मेयर साम्पाङको नेतृत्वमा धरानमा वृक्षरोपण अभियान चलिरहेको छ ।