समाजवाद स्थापनाको निम्ति प्रतिबद्ध छौं: प्रकाश ज्वाला



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले विद्रोहको व्यवस्थापन गर्न र समाजवादको स्थापनाको झण्डा उठाउन पार्टी पुनर्गठन गर्नु परेको बताएका छन्।

बिहीबार पार्टी पुनर्गठनको एक वर्ष पुगेको अवसरमा शुभकामना दिदै उपमहसचिव ज्वालाले सबैखाले अवसरवाद र प्रतिक्रियावादका विरुद्ध आफूहरूले पार्टी पुनर्गठन गरेको दाबी गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ” हामीले कम्युनिष्ट आन्दोलन र पार्टीमा हावि भएको दक्षिणपन्थी अवसरवाद, ब्यक्तिवाद, निरंकुश कार्यशैली, अहंकार तथा जन क्रान्तिबाट प्राप्त अधिकार र सम्बिधानमाथि गरिएको आक्रमण अर्थात प्रतिगमनका बिरुद्ध बिद्रोह गरेका हौं ।

बिद्रोहलाई ब्यबस्थापन गर्नका लागि पार्टीको क्रान्तिकारी पुनर्गठन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका हौं । हामि कम्युनिष्ट आन्दोलनभित्र मौलाएको दक्षिणपन्थी अवसरवाद र सबैखाले प्रतिक्रियावादका बिरुद्ध संघर्ष गर्न प्रतिबद्ध छौं । हामि लोकतन्त्र, राष्ट्रिय अस्मिता, देशको समृद्धि, समाजको आर्थिक सामाजिक रुपान्तरण, जनताको सुख र खुशि, त्यसका लागि समाजवाद स्थापनाको झण्डालाई बुलन्दिका साथ अघि बढाउन संकल्पबद्ध छौ । हामि हाम्रो त्याग, इमान तथा देश, जनता र आन्दोलनप्रतिको निष्ठामा कसैले औला उठाउने अवसर दिने छैनौं । पार्टी पुनर्गठनको अवसरमा उपरोक्त प्रतिबद्धता दोहोर्‍याउनु सान्दर्भिक हुनेछ ।

अब देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको छ । हामि पाँच दलिय गठबन्धनलाई बलियो र भरपर्दो बनाउन तथा कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन तत्पर छौं । निर्वाचनमा केन्द्रित हुनु नै आजको हाम्रो केन्द्रीय काम हो । यस अवसरमा सम्पूर्ण रुपमा निर्वाचनको तयारीमा जुट्न सिङ्गो पार्टी पंक्तिलाई आव्हान गर्दै सफलता प्राप्तिको शुभकामना दिन चाहन्छौं ।

आजको एक वर्ष पहिले २०७८ भाद्र २ गते हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ताको लागि निर्वाचन आयोगमा आवेदन पेश गरेका थियौं र भाद्र ९ गते पार्टी दर्ताको प्रमाणपत्र प्राप्त गरेका थियौं । हाम्रो गौरवशालि पार्टी गठन भएको एक वर्ष पूरा भएको उपलक्ष्यमा आज हामि पार्टी पुनर्गठन दिवस मनाउदै छौं ।

पार्टी पुनर्गठन दिवसको यस गरिमामय अवसरमा हामिमा अझै धेरै जोश, जागर, उत्साह, उर्जा आउने र कम्युनिष्ट आन्दोलनमा पुनर्जागरणको संकल्पसहित स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण नेपाली जन समुदाय तथा सिङ्गो पार्टी पंक्तिमा हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्दछौं !”