काठमाडौँ। आफैँले पठाएको १५ बुँदे सन्देशसहितको नागरिकता विधेयक प्रतिनिधिसभाले संशोधन बिना हुबहु पास गरेपछि शीतलनिवासमा छटपटी सुरु भएको छ । राष्ट्रियसभाबाट पारित हुन बाँकी भएको यो विधेयक आउने निश्चित भएपछि शीतलनिवासमा छटपटी सुरु भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही क्रममा बुधबार सैनिक उच्च अधिकारीसँग छलफल गरेकी छन् । शीतल निवासका एक अधिकारीले राष्ट्रपतिले सैनिक अधिकारीसँग नियमित र पुराना चिनजान भएकाहरूसँग सामान्य भलाकुसारी गरेको भनेर प्रतिक्रिया दिएको छ । तर, बुधबार राष्ट्रपतिले वर्तमान सेनापतिदेखि केही पूर्व सेनापतिहरुसमेत छलफल गरेकी हुन् । छलफलमा सहभागी हुनेमा प्रधानसेनापति प्रभुराम शर्मासहित पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा र प्यारजंग थापा समेत छन् । राष्ट्रपति र सैनिक अधिकारीहरुबीच भएको छलफलको विषय प्रष्ट नभएपनि नागरिकता विधेयककै विषयमा लक्षित भएको बताइएको छ ।
स्रोतहरूका अनुसार राष्ट्रपति नागरिकता विधेयक प्रमाणीकरण गर्नुको साटो राजीनामा दिनेसम्मको मूडमा रहेकी छन् । त्यस्तै ब्रिफिङ प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेतालाई गरेका छन् । राष्ट्रपतिले प्रहरी उच्च अधिकारीलाई पनि छलफलका लागि बोलाउन सूची बनाएको भएपनि सैनिक अधिकारीलाई मात्रै बोलाएको बताइएको छ । प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकमा एमालेले विरोध गर्दै आएको छ भने भण्डारी एमालेबाटै राष्ट्रपति भएकी हुन् ।