चिकित्सक कुटपिट गर्ने कर्मचारीलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीद्वारा सेवा बन्द



जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आपतकालिन बाहेकका सेवा बन्द गरेका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका स्वास्थ्यकर्मीले आफुहरुको माग पूरा नभएसम्म आकस्मिक बाहेकका सेवा प्रदान नगर्ने बताए । प्रतिष्ठानको आपतकालिन विभागमा कार्यरत एकजना डाक्टर कुटिएको विषयलाई लिएर कर्मचारी आन्दोलित भएका हुन् ।

हालै संशोधन भएको चिकित्सक तथा स्वास्थकर्मीको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार कुटपिट गर्ने कर्मचारीलाई कार्वाहीको माग गरेको नेपाल चिकित्सक संघ जुम्लाका उपाध्यक्ष कमल थानिले बताए । आन्दोलित स्वास्थ्यकर्मीले शुक्रबार र शनिबार कालोपट्टि बाधेर बिरामी जाँच गरेका थिए । भोलि सोमबार पेनडाउन गर्ने कार्यक्रम रहेको भएतापनि निश्चित नभएको उनीहरुको भनाइ छ ।

प्रतिष्ठानमा कार्यरत कर्मचारीले चिकित्सक कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। कुटपिटको भिडियो सामाजिक संजालमार्फत बाहिरिएपछि घटनाले उग्र रुप लिएको छ । सेवा अबरुद्ध भएपछि बिरामी मर्कामा परेका छन् । ओपिडी बन्द भएपछि जाँच गर्नुपर्ने बिरामीले सेवा पाउन कठिन भएको बिरामीका आफन्तको गुनासो छ ।

यता प्रतिष्ठान कार्यकारी परिषद्ले कुटपिटमा संलग्न कर्मचारीलाई ४५ दिनका लागि निलम्बित गरिसकेको छ । उक्त घटनाको छानबिन गर्न कार्यसमिति नै गठन गरिएको थियो । घटनाबारे विस्तृत रुपमा बुझ्न नेपाल चिकित्सक संघको तर्फबाट सचिब अनिल बिक्रम कार्की, महासचिव डा. बद्री रिजाल र कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी आइतबार जुम्ला पुगेका छन् । उनिहरुले स्वास्थ्यकर्मीहरुको सुरक्षाका निमित्त बनेको ऐनमा रहेको ३ बर्ष जेल सजाय हुनुपर्ने माग गरेका छन् ।

जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई भेटेर उक्त मुद्दा जिल्ला अदालत पठाईएको बताइएको छ ।