काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको अन्तिम बिदाइ भएको छ।
क्यान्सर रोगबाट पीडित ७५ वर्षीय गिरिको उपचारकै क्रममा शनिबार बेलुका निधन भएको थियो। गिरिलाई श्रद्धाञ्जली दिन विभिन्न दलका नेता कार्यकर्ता, मन्त्रीहरू, सांसदहरू, सभामुख र शुभचिन्तक र शुभेच्छुकहरू मेडिसिटी अस्पताल, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र आर्यघाटसम्म पुगेका थिए। पशुपतिस्थित आर्यघाटमा गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
आर्यघाटमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरू आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
नेता गिरिको निधनले नेपालको समाजवादी र लोकतान्त्रिक आन्दोलनका लागि ठुलो क्षति भएको भन्दै उनको स्मरण भइरहेको छ। त्यस क्रममा विभिन्न दलका शीर्ष नेताहरूले गिरिको बौद्धिक व्यक्तित्व र तर्कशील क्षमता सबैका लागि प्रेरणाको स्रोत रहेको भन्दै राजनीतिलाई जनता र राष्ट्रको सेवा गर्ने माध्यमको रूपमा लिनुपर्छ भन्ने प्रतिनिधि सभा सदस्य समेत गिरिको मान्यताबाट सबैले प्रेरणा लिनुपर्ने बताएका छन्।
तस्बिर: मुकुन्द कालिकोटे