प्रदीप गिरीको स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील



काठमाडौँ। काँग्रेस नेता प्रदीप गिरीको परिवारले उनको स्वास्थ्य लाभको प्रार्थना गर्न सबैलाई अपील गरेको छ।

नेता गिरीकी पत्नी भारती सिलवाल गिरीले आज एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न अपील गरेकी हुन्।

विज्ञप्तिमा उनले भनेकी छन् : ‘नेपाल मेडिसिटी हस्पिटलको सम्पूर्ण परिवारको उत्कृष्ट सेवाको लागि कृतज्ञता व्यक्त गर्दछु । सबैलाई गिरीको स्वास्थ्यको लागि प्रार्थना गर्न आग्रह गर्दछु।

नेता गिरीलाई भारतमा क्यान्सरको उपचार गरेर फर्किएपछि एक महिनाअघि न्युमोनिया र क्यान्सरजन्य जटिलताको उपचारको लागि नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

विज्ञप्तिमा भारतीले भनेकी छन् : ‘उनको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि एक साताअघि इम्युनोथेरापी गराइएको थियो । त्यसले उनको स्वास्थ्यमा थप असर गर्यो र उनलाई ‘मल्टिपल अर्गान फेलर९धेरै अंगले काम नगर्ने स्थिति’ भयो ।’

विज्ञप्तिमा भनिएको छ : ‘क्यान्सरविज्ञ (ओन्कोलोजिस्ट), छाति रोग विज्ञ (पुल्मुनोलोजिस्ट), पाचन प्रक्रिया विशेषज्ञ (ग्यास्ट्रोइन्टेरेनोलोजिस्ट), मृगौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट), इन्टरनल मेडिसिनका डक्टर (इन्टर्निस्ट) र क्रिटिकल केयर विशेषज्ञ सम्मिलित डाक्टरहरुको एक टिमले प्रदीप गिरीको स्वास्थ्यस्थिति चौबीसै घण्टा निगरानी गरिरहेका छन् । यो टिमले उनको पूर्ण स्वास्थ्यलाभको लागि प्रयास गरिरहेको छ ।’