काठमाडौँ। नेपाली कांग्रेसले मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका तर्फबाट कम्तीमा ५० प्रतिशत सिटमा आफूले उम्मेदवारी दिने गरी तालमेल हुनुपर्ने जनाएको छ।
मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन्। कांग्रेसले प्रतिनिधिसभातर्फ कम्तीमा १६ सिट र प्रदेशसभातर्फ कम्तीमा ३२ सिट पाउनुपर्ने अडान राखेको हो।
कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव सत्ता गठबन्धनमा केन्द्रमा हुने सिट बाँडफाँटको अनुपातमा मधेस प्रदेशका सिटहरुमा तालमेल हुने बताउँछन्। यादवले रातोपाटीसँग भने, ‘पार्टीले ६० प्रतिशत लिन्छ भने मधेसमा पनि ६० प्रतिशत लिन्छौं। पार्टीले ५५–५० प्रतिशतमा सहमति गर्दा मधेसमा पनि ५५–५० कै रेसियोमा चाहिन्छ ।’
केन्द्रको रेसियो अनुसार गठबन्धनभित्र मधेसमा सिट बाँडफाँट हुने यादवको जिकिर छ। उनले कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला, सदस्यद्वय गगन थापा र ज्ञानेन्द्र कार्कीलाई पनि सोही कुरा राखेका छन्।
कांग्रेस नेता विमलेन्द्र निधिले पनि मधेसमा प्रतिनिधिसभाका १६ सिटमा पार्टीले दाबी गर्नुपर्ने बताएका छन्। साउन २३ मा बसेको कांग्रेस शीर्ष नेताको बैठकमा निधिले मधेस प्रदेशमा कांग्रेसले प्रतिनिधिसभामा १६ सिट पाउने गरीमात्र तालमेल गर्न सुझाव दिएका थिए। मधेस प्रदेशका ८ जिल्लामा ४–४ निर्वाचन क्षेत्र छन्।
प्रत्येक जिल्लाका २ वटा निर्वाचन क्षेत्र काँग्रेसले पाउने गरी सिट बाँडफाँट गर्न कार्यदलका सदस्यमाथि मधेस कांग्रेसले दबाब बढाएको छ। २०७४ मा कांग्रेसले प्रतिनिधिसभातर्फ मधेस प्रदेशका ३२ मध्ये ६ सिट जितेको थियो।
जसअनुसार सर्लाही –४ बाट अमरेश कुमार सिंह, बारा– १ बाट उमाकान्त चौधरी, सप्तरी–४ बाट तेजुलाल चौधरी, रौटहट–४ बाट देवप्रसाद तिमिल्सिना, सिरहा–१ बाट प्रदीप गिरी र रौटहट– २ बाट मोहमद अफताब आलम विजयी भएका थिए । मधेस प्रदेशमा जसपाबाट प्रत्यक्षतर्फ निर्वाचित १० प्रतिनिधिसभा सदस्य छन्। तीमध्ये ८ जना तत्कालीन समाजवादी फोरमबाट निर्वाचित हुन् भने दुई जना तत्कालीन राजपाबाट निर्वाचित भएका हाल जसपामा छन्।
यस्तै मधेस प्रदेशमा माओवादीका ५ जना निर्वाचित सांसद छन् भने नेकपा एकीकृत समाजवादीमा प्रतिनिधिसभा सदस्य छैनन्। मधेसमा जसपाले कम्तीमा १० सिट पाउनुपर्ने अडान राखेको छ भने ८ सिटमा माओवादीको दाबी छ। यस्तै ५ सिट आफूले पाउनुपर्ने एकीकृत समाजवादीको माग छ।
०७४ मा काँग्रेसले मधेसका प्रदेशसभातर्फका ६४ मध्ये ७ सिट जितेको थियो। रौतहट– ४ ९क० बाट धनलाल ठोकर, रौटहट २ ९क० बाट नागेन्द्र प्रसाद सिन्हा, सप्तरी–३ (क)बाट मोहम्मद समिम, पर्सा २ ९क०बाट राजेश्वरप्रसाद, धनुषा– ३ ९क०बाट राम सरोज यादव, सर्लाही–४ ९क०बाट विरेन्द्र प्रसाद सिंह र पर्सा–४ ९क०बाट शंकर प्रसाद चौधरी विजयी भएका थिए।
मधेस प्रदेशसभा सदस्यमा जसपाका २२ जना प्रत्यक्ष निर्वाचित सांसद छन् भने माओवादी केन्द्रका ३ जना छन्। यस्तै प्रदेशसभामै एकीकृत समाजवादीका प्रत्यक्ष निर्वाचित सांसद ९ जना छन्।
प्रदेशसभामा जसपाले ३२ सिटमा दाबी राखेको छ। यस्तै एकीकृत समाजवादीले २० र माओवादीले १५ सिटमा दाबी गरेको छ। अहिले गठबन्धन बाहेक मधेस प्रदेशमा एमालेका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ७ जना प्रत्यक्ष निर्वाचित सांसद छन्।
०७४ मा जितेको सिट सुरक्षित राखेर जाने मापदण्ड अनुसार ११ सिटमा मात्र गठबन्धनभित्र भागबण्डा हुने अवस्था हुन्छ। त्यसैले कांग्रेस ०७४ मा जितेका सिट सुरक्षित गरेर बाँकीमा भागबण्डा गर्ने मापदण्ड मधेसमा लागू गर्न नहुने पक्षमा छ। उसले केन्द्रकै अनुपातमा मधेस प्रदेशमा भागबण्डा गर्न दबाब दिएको छ।