काठमाडौँ। नेकपा एमालेले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको तयारी थालेको छ।
ओली कोटरीका खास नेतालाई सुरक्षित निर्वाचन क्षेत्रमा लगेर जिताउने र पूर्व माधव समुहबाट आएका ‘१० भाई’लाई छानिछानि हराउने योजना बालकोटमा बनेको छ। त्यसका लागि प्रत्यक्षतर्फ ‘जिताउनै पर्ने’ सूचीमा ५० जना र समानुपातिकबाट ‘ल्याउनै पर्ने’मा ३० जनाको नाम समावेश गरिएको एमाले स्रोतले बताएको छ।
‘१० भाई’ र तिनका समर्थक सांसदमध्ये बढीमा ३ जनाले टिकट पाउँदै छन्। स्रोतका अनुसार १० भाइमध्ये युुवराज ज्ञवाली अहिलेसम्म कुनै निर्वाचन क्षेत्रमा स्थापित छैनन्। अष्टलक्ष्मी शाक्यलाई ‘उमेर पुगेको’ भनेर टिकट नदिने योजना ओलीले बताएका छन्। शाक्यको क्षेत्रबाट महासचिव शंकर पोखरेलकी पत्नी सुजिता शाक्य वा अञ्जान शाक्यलाई उठाइँदैछ।
उता लालबाबु पण्डितले चुनाव लड्ने मोरङको निर्वाचन क्षेत्र तालमेलमा राप्रपालाई दिएर रेखा थापालाई उठाउने योजना छ । भीम रावलको क्षेत्रमा झपट बोहरा अगाडि बढिसकेका छन् । घनश्याम भुसालको क्षेत्र रुपन्देही(३ मा पनि राप्रपासँगको तालमेलका नाममा दिपक बोहोरालाई उठाउने बलियो सम्भावना छ ।
भीम आचार्यको क्षेत्र सुनसरी–२ मा जिल्ला पार्टी अध्यक्ष रेवती भण्डारीको उम्मेदवारी करिव निश्चित भएको छ । गोकर्ण विष्टको गुल्मी–२ मा पत्रकार राजेन्द्र अर्याललाई अगाडि सार्ने सम्भावना छ । एमाले स्रोतका अनुसार ओलीले उम्मेदवार बनाउन चाहेका ‘१० भाइ’ मध्येका योगेश भट्टराईलाई ताप्लेजुङबाटै उठ्ने कुरा चुनौतिपूर्ण बनेको छ ।
उनी नेपाल पक्षमै हुँदा सोही खेमाका तिलकुमार मेन्याङवो ओलीतिर गएका थिए । कारण थियो, ताप्लेजुङबाट योगेशलाई ‘बिदा’ गर्ने । हालै एमाले ताप्लेजुङको बैठकमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनअघि योगेशले आफू ताप्लेजुङबाट अर्कोपटक नउठ्ने बताएको र यसपटक तिलकुमारले टिकट पाउनुपर्ने विषय उठेको थियो । तर, योगेशले भने आफूले त्यसो नभनेको बताएका छन् ।
अहिलेको चुनावी रस्साकस्सीमा ताप्लेजुङमा लिम्बू र गैरलिम्बू उम्मेदवारको बहसले पनि चर्को रुप लिइसकेको छ । त्यसैले योगेशलाई झापाको क्षेत्र नं. १ मा झार्ने सम्भावना छ। तर, यदि त्यस्तो भयो भने त्यहाँ उम्मेदवारीको दाबी गरिरहेका ओलीपक्षीय गोपाल बुढाथोकी र पूर्वमाधव नेपाल समूहका चन्द्र भण्डारी नै बाधक बन्ने अवस्था छ।
अर्का नेता सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन–१ मा तामाङ र चेपाङ समुदायको बाहुल्यता छ। अघिल्लो पटक नै संघीय संसदको टिकट दाबी गरेर पछि प्रदेशसभामा गएका दावा दोर्जे लामाले यसपटक टिकट नपाए बागी नै भए पनि उठ्ने भनिरहेका छन्।
रघु पन्तको निर्वाचन क्षेत्र ललितपुर ३ मा बाबुकृष्ण कार्कीलाई अगाडि बढाइएको छ। राप्रपाबाट एमाले प्रवेश गरेका उनी ०७४ को स्थानीय निर्वाचनमा उपमेयरका उम्मेदवार थिए। अरुण नेपालको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक–१ मा यसपटक सरेश नेपालको उम्मेदवारी टुंगो लाग्ने भएको छ ।
अघिल्लो निर्वाचनमा कञ्चनपुर(३ बाट जितेका दिपकप्रकाश भट्टलाई यसपालि टिकट नदिने पक्कापक्की भएको छ। उक्त क्षेत्रबाट ओलीले निरुदेवी पाललाई उठाउने तयारी गरेका छन् । ०७४ मा कैलाली २ बाट चुनाव जितेका झपट रावललाई रोक्न उक्त क्षेत्र तालमेलमा सहभागी दललाई दिइने भएको छ । कैलाली रेशम चौधरीको पकड जिल्ला भएका कारण उनकै पार्टीले उक्त क्षेत्र पाउने सम्भावना छ। याे समाचार दृष्टिमा छ।