जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिर्घरोगको उपचारका लागि ब्रोन्कोस्कोपी विशेषज्ञ सेवा शुरु भएको छ ।
सोमबार प्रतिष्ठानमा छाती र आइसियु विशेषज्ञ डाक्टर अनुस्मृती पालको नेतृत्वमा जुम्लाका एक बिरामीको ब्रोन्कोस्कोपी गरिएको हो। क्षयरोग, फोक्सोमा क्यान्सर, खकारमा रगत बग्ने(टिभी) रोग, क्यान्सरको शंका लागेको लगायत दिर्घ रोगीको उपचारका लागि ब्रोन्कोस्कोपी गरिने प्रतिष्ठानका उपकुलपती डाक्टर मंगल रावलले बताए ।
रावलका अनुसार सोमबार पहिलो बिरामीका रुपमा खकारमा रगत बग्ने बिरामीको सिटि स्क्यान गरी ब्रोन्कोस्कोपी उपचार थालिएको हो। कर्णालीमा क्षयरोग, फोक्सोमा क्यान्सर, खकारमा रगत बग्ने रोगका बिरामी धेरै भेटिने हुँदा अब जुम्लामै त्यसको समस्या समाधान हुने उनले बताए ।
विगतमा सिटि स्क्यान गर्दा क्यान्सरको शंका लागेका बिरामीलाई महंगो खर्चमा माँसु जाँचका बाहिरी जिल्ला जानुपर्ने बाध्यता अब टर्ने भएको हो । ब्रोन्कोस्कोपी सेवा मार्फत सुदुरपश्चिम सहित कर्णाली प्रदेशका सबै नागरिकले जुम्लामै छाती सम्बन्धी समस्यासँगै क्यान्सर परिक्षण, खकार परिक्षण, क्षयरोगको सहज उपचार पाउने प्रतिष्ठानका उपकुलपति डा.रावलले बताए ।
ब्रोन्कोस्कोपी मार्फत बच्चाले कलम, मासुको हड्डी लगायतका केहि वस्तु घाँटी भित्र अड्काए सहजै निकालिने बताइएको छ ।