काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल भएको छ।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको हो ।
स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए। बैठकमा नेपाली काँग्रेस लगायत दलहरूले राखेका आ–आफ्नो दाबी बारे सदस्यहरूले जानकारी दिएको पोखरेलको भनाई छ।
कार्यदलका सदस्यहरूको कुरा सुनेपछि पार्टी अध्यक्ष प्रचण्डले काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका थिए। अध्यक्षले कुन–कुन नेतालाई टिकट दिने र कुन–कुन क्षेत्र छाड्न नहुने विषयमा पनि धारणा राख्नुभयो।
आजको बैठकमा भएको छलफल अनुसार नै कार्यदलका सदस्यहरूलाई गठबन्धनको कार्यदलको बैठकमा कुरा राख्न आग्रह गर्नुभयो,’ पोखरेलले रातोपाटीलाई बताए। त्यस्तै आजको बैठकमा प्रचण्डले आफ्नो जापान भ्रमणको बारेमा पनि स्थायी समिति सदस्यहरूलाई ब्रिफिङ गरेका थिए।