सुर्खेत। जिल्लाको निर्वाचन क्षेत्र नं.२ (ख) बाट प्रदेश सभा सदस्यका लागि एकीकृत समाजवादीबाट मोहन बडुवालले उम्मेदवारी घोषणा गरेका छन्।
समाजवादीको जिल्ला अध्यक्षसमेत रहेका बडुवालले शनिबार पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आयोजित प्रदेश सभा (ख) समन्वय कमिटीको बैठकमा उनले उम्मेदवारी घोषणा गरेका हुन्।
बडुवाल गाउँ कमिटी सचिव हुँदै एमाले विभाजन हुनुभन्दा अघिसम्म एमालेको सुर्खेत जिल्ला सचिव थिए। त्यसपछि नेकपा हुँदा उनी नेकपा कार्यालय सदस्य थिए। ०७४ को निर्वाचनमा उनी एमालेबाट प्रदेश सभा सदस्य पदका लागि सिफारिस भएका थिए।
यद्यपी पछि बाम गठबन्धन बनाएर जाने सहमति भएपछि माओवादी केन्द्रको भागमा परेको थियो। अहिले समाजवादीको प्रदेश सचिवालय सदस्य समेत रहेका उनले (ख) चुनाव लड्ने गरि यसअघिदेखि नै तयारी थालिरहेको बताए ।
बडुवालले गठबन्धन हुँदा पनि (ख) मा समाजवादीको दाबी रहने बताए। उनले भने,‘ संघ र प्रदेशका चार क्षेत्रमध्ये एउटामा हाम्रो दाबी रहन्छ । त्यो भएकाले हाम्रो जनमत पनि केही राम्रो भएकाले (ख) मा दाबी रहन्छ । त्यो भएकाले चुनाव लड्ने घोषणा गरेको हुँ ।’ (ख) अन्तर्गत क्षेत्र नं.–२ का बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका पर्दछन्।