‘कर्णाली युथ भोलेन्टिएर’ गठन गरिने



काठमाडौँ। ‘कर्णाली युथ भोलेन्टर’ नामक स्वतन्त्र संगठन गठन हुने भएको छ ।

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको परिकल्पनामा सामाजिक सेवामा समर्पित हुने उद्देश्यका साथ Karnali youth Volunteer नामक संस्था गठन गर्न लागिएको आयोजकले जनाएको छ।

शनिबार राजधानीको भृकुटिमण्डपस्थित आर.आर. क्याम्पसमा एक कार्यक्रमको आयोजना गरेर कर्णाली युवा स्वंयम सेवक जत्था गठन गर्नेबारे अन्तरक्रियात्मक छलफल सम्पन्न भएको छ।

नेता शाहीले राजनीति आस्था र विचारभन्दा माथि उठेर कर्णालीको समग्र विकास र समृद्धिको लागि स्वतन्त्र टाइपको फोरम बनाउन पुगेको बताए। उनले भने, ‘आज यो कार्यक्रममा म कांग्रेसको नेताको हैसिउतमा उभिएको छैन। जता पनि राजनीति मात्रै भयो। कर्णालीको विकासका लागि एउटा राजनीतिक आस्था र विचारले बन्दैन। सबै विचार र आस्था राख्ने व्यक्तिहरुको साझा प्रयासले मात्रै कर्णाली बन्छ भन्ने मेरो बुझाई छ। म नेता हुँला, नहुँला, सांसद हुँदा नहुँला त्यो फरक कुरा हो। तर, मैले चुनाव जित्दै गर्दा मलाई भोट दिने जनतालाई खुशी प्रदान गर्न सक्छु कि सक्दैन ? त्यो कुरा महत्वपूर्ण हुन्छ।’

त्यस्तै एकीकृत समाजवादी पार्टीका केन्द्रीय प्रचार विभागका सदस्य धनराज वास्तविकले माओको भनाई उल्लेख गर्दै सहि कार्यदिशा तय हुँदा मात्रै संस्था गठनको औचित्य पूष्ठि हुने बताए। उनले भने, ‘माओले भन्नु भएको छ, ‘सहि कार्यदिशा तय गरेको खण्डमा असम्भव लाग्ने कुराहरुमा समेत सफलता प्राप्त हुँदै जान्छन्। लगत कार्यदिशा तय हुँदा आफूसँग भएका उपलब्धिहरु पनि गुम्दै जाने हुन्छन्। त्यस्तैले यो संस्थाले सहि कार्यदिशा तय गरोस्। यो देश बनाउने जिम्मा युवाहरुकै हो।’

नेता शाहीको पहलमा गठन गर्न थालिएको संगठनको विस्तार अर्को कार्यक्रमको आयोजना गरेर गरिने भएको छ। आयाेजक मध्येका एक अभियन्ता जगतजंग बिष्टका अनुसार कार्यक्रममा चर्चित गायिका टिका पुन, उदिराम खड्का, मिलन विश्वकर्मा, करिष्मा घर्ती मगर, गायक धनराज चुनारा लगायतको उपस्थिति रहेको थियो। दर्जन बढि सहभागिहरुले संस्था गठनबारे चिन्ता, चासो, गुनासो र सुझावहरु दिएको अभियन्ता बिष्टको भनाई छ। उक्त कार्यक्रमको सञ्चालन अभियन्ता बशन्त शाहीले गरेका थिए।