मिटरब्याज नियन्त्रण गर्न गृह मन्त्रालयले बनायो कार्यदल



काठमाडौँ। मिटरब्याज नियन्त्रणका लागि गृह मन्त्रालयले कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहमन्त्री बालकृष्ण खाणले सह–सचिव डा.भिष्मकुमार भुसालको संयोजकत्वमा कार्यदल गठन गरेका हुन्।

कार्यदलमा सिआईबीका एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका उप–सचिव श्रीकृष्ण पौडेल, उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइराला र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य छन्। कार्यदलको सदस्य सचिवमा डिएसपी रोशन खड्का छन्।

शुक्रबार प्रधानमन्त्रीले गृहमन्त्री, नेपाल प्रहरीका आईजीपी, सशस्त्र प्रहरी प्रमुख र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटर ब्याजको समस्या समाधान गर्न निर्देशन दिएका थिए। कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।