मंसिर ४ को निर्वाचनका लागि आयोगमा ३३ दल दर्ता



काठमाडौँ। आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन्।

शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए। आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ।

मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने काँग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी रहेको छ। दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेश गर्नुपर्दछ।