काठमाडौँ। संघ र प्रदेशको चुनाव घोषणासँगै सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटका बैठक चलिरहेका छन्।
भागबन्डाको टुंगो लागि नसकेको भए पनि दाबी(प्रतिदाबी भने चलिरहेकै छ। यस्तोमा काठमाडौंमा निकै कमजोर रहेको नेकपा माओवादी केन्द्रले यहाँका कति क्षेत्रमा दाबी गर्ला भन्ने चासो छ।
काठमाडौं जिल्लामा १० वटा संघीय निर्वाचन क्षेत्र छन्। स्रोतका अनुसार माओवादीले यसपटकको चुनावमा काठमाडौंका तीन क्षेत्रमा दाबी गरेको छ।
शान्ति प्रक्रियामा आए लगत्तैको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन १५ मध्य ६ वटा क्षेत्रमा जितेको थियो। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने माओवादीले एउटा निर्वाचन क्षेत्र पनि जित्न सकेन।
२०७४ मा नेकपा एमालेसँग वाम गठबन्धन गर्दा तीन वटा निर्वाचन माओवादी केन्द्रले पाएको थियो। काठमाडौं(१, ६ र १० मा माओवादीले उम्मेदवारी दिएको थियो तर सबै पराजित भएका थिए। क्षेत्र नम्बर १ मा अनिलकुमार शर्मा, ६ मा झक्कुप्रसाद सुवेदी र १० मा हितमान शाक्य उम्मेदवार बनेका थिए।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले पुरानै क्षेत्रमा आफ्नो दाबी गरेको बताए। ‘२०७४ मा एमालेसँग गठबन्धन गर्दा पाएका क्षेत्र नै हुनुपर्छ भन्ने छ,’ शर्माले भने । यो समाचार अनलाइनखबरमा छ।