काठमाडौँ। प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको छ।
गाडी खरिदका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले बताए। गाडी किन्न अर्थ मन्त्रालयले सहमती दिनुपर्छ।
प्रहरीले ठूला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्न प्रस्ताव गरेको छ। प्रहरीले जिप ५० वटा, डबल पिक्याप ३८५ वटा, प्रिजनर भ्यान २१७ वटा र टुटन ट्रक ४० वटा खरिद गर्न प्रस्ताव गरेको छ। बस १५ वटा र मोटरसाइकल १५ सय १७ वटा खरिद गर्न प्रस्ताव गरिएको छ।
मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ। निर्वाचन सुरक्षाका लागी खरिद प्रस्ताव गरिएको सो सवारी साधनको लागत साढे ३ अर्ब लाग्ने अनुमान छ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि प्रहरीले ६१० वटा गाडी किन्नुपर्ने प्रस्ताव गरेको थियो। तर, अर्थले सहमती नदिएपछि त्यतिबेला खरिद गरिएको थिएन। प्रहरीका लागि १३ सय गाडी आवश्यक रहेको डिआईजी राईले बताए। उनले भने–‘पुराना गाडी धकेलेर चलाउनुपर्ने अवस्था छ।’