चितवन ३ बाटै चुनाव लड्ने प्रचण्डको घोषणा



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने प्रस्ट पारेका छन्।

जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले मंगलबार टोकियोमा रहेका नेपाली पत्रकारहरूसँगको कुराकानीमा मंसिर ४ मा हुने निर्वाचनमा आफू चितवन ३ बाटै चुनाव लड्ने बताएका हुन्।

‘मैले प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु। म अन्तबाट होइन, चितवनबाटै लड्छु, चितवनको पनि क्षेत्र नम्बर ३ बाटै लड्छु। बरु तपाईंहरु जापानमा रहने साथीभाइहरूले पनि सहयोग गर्नुहोला’, प्रचण्डको भनाइ छ। उनले आफूलाई विभिन्न जिल्ला रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटबाट चुनाव लड्न प्रस्ताव आए पनि आफूले चितवनबाटै उम्मेदवारी दिने निर्णय गरेको बताए।

उनले चितवन देशको केन्द्रविन्दुमा भएको भन्दै विकासको तीब्र गतिमा जाने सम्भावना समेत रहेकाले देशभरि सन्देश जाओस् भनेर चितवनलाई महत्व दिएको बताए। ‘मलाई चुनाव लड्नप¥यो भनेर रुकुम, गोरखा, धनुषा, सिरहा, कालिकोटका साथीहरुले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ। साथीहरुलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास ब्यापक रुपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ। तर साथीहरु सबैलाई धन्यवाद भन्दै म चाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु।’ त्यसक्रममा प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको पनि बताए। ‘अहिले पनि प्रधानमन्त्रीको प्रस्ताव छ, तर म प्रधानमन्त्रीको रेसमा छैन’, प्रचण्डको भनाइ छ।​