काठमाडौँ। आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ।
निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिए । उनले भने, “आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्नेछ।”आयोगको परामर्शमा सरकारले मङ्सिर ४ गते आम चुनाव हुने मिति घोषणा गरिसकेको छ।
कार्यतालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु भएसँगै निर्वाचन कार्यक्रम टुङ्गिने छ।उक्त अवधिका लागि आयोगले ७६ वटा कार्यक्रम तय गरेको छ।यद्यपि आयोगले तालिकामा केही संशोधन हुनसक्ने जनाएको छ।
आयोग उच्च स्रोतका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुनेछ। मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ। जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ।