कालिकोट। आशन्न निर्वाचनका बारेमा विभिन्न टिप्पटी सुरु हुन थालेका छन्।
पाँचदलीय सत्ता गठबन्धनले आगामी निर्वाचन र त्यसपछिको सत्ता समिकरणसम्म जाने संकेत गरेपछि एमाले मुद्धाको खोजिमा भौतिरि रहेको छ। एमाले नेतृत्व कहिले धार्मिक त कहिले केही फण्डा झिकिरहेको छ। अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारले संविधान र संसदमाथि गरेको असंवैधानिक अपराधका कारण जनतामा बदनाम बनेको एमाले नयाँ फण्डा र एजेण्डाको खोजिमा छ।
साथै सत्ता गठबन्धनलाई व्यवहारमा उतार्न नसक्ने र कांग्रेसभित्र विद्रोहको सम्भावना जीवित रहेका कारण एमाले त्यसको फाइदा उठाउने मौखा खोज्नेछ । त्यो बाहेक गठबन्धन सपार्ट रुपमा अघिबढेको खण्डमा एमाले अत्यन्तै कमजोर बन्ने सम्भावना छ । त्यसैले पनि सत्ता गठबन्धनमा रहेका कम्युनिष्ट पार्टीहरुलाई सत्ताबाट बाहिरिन अनुरोध गरिरहेको छ ।
गठबन्धन भित्रको सम्भावित दृश्य
सत्तागठबन्धन कायम रहे कालिकोटमा के होला? कसले कुन क्षेत्रमा पाउलान् ? यो आम प्रश्न हो । जसको उत्तर खोज्नका लागि केही विगत पल्टाउनै पर्छ । आगतलाई सम्भावित प्रक्षपण गर्नका लागि गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनलाई फर्केर हेर्नुपर्ने हुन्छ।
वडा अध्यक्षहरुले पाएको मतका आधारमा पहिलो माओवादी पार्टी छ। दोस्रोमा कांग्रेस छ । तेस्रोमा एमाले र चौथोमा एस पार्टी छ ।
कालिकोटमा वडाअध्यक्षले पाएको मतका आधारमा माओवादी १८३४७, कांग्रेस १२८२०, एमाले १२६१३, एस ३५०३, राप्रपा ५८० मत रहेको छ । यस आधारमा संघमा माओवादी केन्द्र र प्रदेशमा कांग्रेस र एसले भाग पाउने देखिन्छ ।
सम्भावित उम्मेदारहरुको चर्चा
आसन्न निर्वाचन निक्कै रोचक र घोचक हुने देखिन्छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कालिकोट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गृह जिल्ला हो । कालिकोट माओवादी केन्द्रको प्रभावशाली जिल्ला हो । त्यसै कारण पनि उसले प्रतिनिधि सभा रोज्ने छ । यदि प्रतिनिधिसभा माओवादीले रोज्यो भने उक्त पार्टीबाट कुन नेता उम्मेदार बन्ला ? पूर्वमुख्यमन्त्री शाही, पार्टीका केन्द्रीय सदस्य तथा कालिकोटका इन्चार्ज विष्णुबहादुर बिक (विकल्प), पूर्व राष्ट्रियसभा सदस्य जीवन बुढालगायतको चर्चा सुनिन्छ । २०७० मा सांसद बनेका शाही उर्जा मन्त्री बनेका थिए । २०७४ मा निर्वाचन जितेका शाही मुख्यमन्त्री बन्न सफल भए। शाहीले पटक पटक अवसरको उपभोग गरिसकेको र फरक व्यक्तिलाई पालो दिनुपर्ने आवाज माओवादीभित्र बलियो छ ।
प्रदेशतर्फका सम्भावित उम्मेदारहरु
प्रदेश (क)
कालिकोटको प्रदेश ‘क’ पूर्व कृषिमन्त्री कुर्मराज शाहीको निर्वाचन क्षेत्र हो । गत स्थानीय तहमा उनले नेतृत्व गरिरहेको पार्टी नेकपा (एकीकृत समाजवादी) ले नराम्रोसँग हार व्यहोर्न पुग्यो। कुनै बेला माओवादी केन्द्रका नेता महेन्द्र शाहीको सरकार बचाउन फ्लोर क्रश गरेर राजनीतिक गुन लगाएका कुर्मराज शाहीले गत स्थानीय चुनावमा माओवादीबाटै साथ पाएनन् । तसर्थ माओवादीले गुन भुल्यो। बरु कुर्मराज शाहीको क्षेत्रमा माओवादीले कांग्रेसलाई प्रमुख स्वीकार गर्यो। कुर्मराज फ्लोर क्रश गरेकै कारण पुनः उम्मेदार बन्ने सम्भावना पनि जीवितै छ।
खैर, यस क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही पनि छन् । उनी दुई पटक संघीय निर्वाचनमा हार व्यहोरी सकेका नेता हुन् । यदि उनी प्रदेशमा लड्न चाहे भने उनले प्रदेश निर्वाचन क्षेत्र ‘क’ लाई कांग्रेसको भागमा पार्ने प्रयास गर्ने देखिन्छ । यदि यसो भएको खण्डमा समाजवादी पार्टीको भागमा प्रदेश निर्वाचन क्षेत्र ‘ख’ पर्नेछ । तर, यो समाचार तयार पार्दाको समयसम्म भुपेन्द्रजंग शाही संघीय सिटकै लागि बार्गेनिङ गरिरहेको सूचना प्राप्त भएको छ ।
प्रदेश ‘ख’
पूर्वमुख्यमन्त्री शाहीले २०७४ सालमा निर्वाचन जितेको क्षेत्र हो । तत्कालिन एमाले र माओवादी केन्द्रको साझा उम्मेदार हुँदा पनि धेरै फराकिलो मतले जितेका थिएनन्। उक्त क्षेत्रमा एमाले भोटर बनेको थियो । तर, आसन्न निर्वाचन निक्कै फरक हुनेछ । गठबन्धनका तर्फबाट यदि एकीकृत समाजवादी पार्टीले भाग पायो भने को उम्मेदार बन्ला ? यहि प्रश्न सर्वाधिक चासोको विषय बनेको छ । नेकपा (एकीकृत समाजवादी ) का केन्द्रीय सदस्य तुलराज सिम्खडा, प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी अध्यक्ष विश्वराज बम मुख्य आकांक्षिका रुपमा प्रस्तुत भएका छन् । अध्यक्ष बमले पार्टी नेतृत्वदेखि स्थानीय तहका नेता कार्यकर्ताहरुसँग आफू आगामी निर्वाचनमा उम्मेदार बन्ने यसअघि नै बताइ सकेका छन्। तर, सिम्खडा कालिकोटको निर्वाचन क्षेत्र ‘ख’ समाजवादी पार्टीले पाउनुपर्ने अडानमा छन् । विगत लामो समयदेखि निर्वाचन क्षेत्र ‘ख’ अवसर नपाएको उनको भनाई छ । उनी पनि आकांक्षि नेता हुन् । त्यस्तै पुराना तथा पाका नेता रंगराज सिम्खडा पनि टिकटको लागि दौडधुपमै छन्।