विश्वकप २०२२ः मेस्सीलाई अन्तिम मौका



काठमााडौँ। लियोनल मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी।

विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी। मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो ।

विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो। कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो। उनीहरूले अर्जेटिनालाई विश्व फुटबलको एक उत्कृष्ट टोली बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

मेस्सी महान् खेलाडी हुन्, यसमा दुई मत छैन। अर्जेन्टिनालाई कोपा अमेरिका जिताएका मेस्सीलाई अहिले आफूलाई सफल साबित गर्ने अन्तिम मौका आएको छ। ​मेस्सीका लागि कतार विश्वकप २०२२ अन्तिम मौका हो। ३५ वर्षे मेस्सीले यसपछि विश्वकप खेल्ने सम्भावना कमै छ। क्लब जीवनमा थुप्रै उपाधि जिताएका मेस्सीले राष्ट्रका लागि विश्वकप उपाधि जिताउने जिम्मेवारी काँधमा आएको छ।

जति–जति मेस्सीको उमेर बढ्दो छ, त्यति नै फुटबल प्रेमीहरूको मनमा एउटा डर उत्पन्न हुन्छ । कारण उनले देशलाई विश्वकप उपाधि दिलाउन सकेका छैनन्। यसअघि मेस्सीलाई कोपा अमेरिका भए पनि देशका लागि एक उपाधि जिताउने दबाब थियो । त्यो भने मेस्सीले सन् २०२१ मा ब्राजिलमा भएको कोपा अमेरिकाबाट पूरा गरेका थिए।

मेस्सीले अर्जेन्टिनालाई ‘विश्वकप फुटबल’मा फाइनलमा पुर्‍याए पनि उपाधि दिलाउन भने सकेनन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने धेरैजसो खेलाडी युरोपियन क्लबहरूमा राज गरिरहेका छन् । स्पेनिस क्लब बार्सिलोनामा लामो समययता राज गरेर फ्रान्सेली क्लब पीएसजीमा गएका मेस्सी एक सिजन कमजोर फर्ममा रहे । तर, सिजनको सुरुवात हुनु पूर्व उनी उत्कृष्ट फर्ममा छन् ।

मेस्सीसँगै युरोपको फुटबलमा इटालियन क्लब रोमामा पाउलो डिबाला, इटालियन क्लब युभेन्ट्समा एन्जल डी, इटालियन क्लबमा लाउरेटो मार्टिनेज, बार्सिलोनामा मार्टिनेजलगायत खेलाडीहरू विश्व फुटबलमा राज गरेर बसेका छन् ।

जब अर्जेन्टिनाले अन्तर्राष्ट्रिय स्तरमा ठूलो प्रतियोगिता खेल्छ, सबैभन्दा पहिला मेस्सीको नाम आउँछ । गोल गर्ने खेलाडीको पहिलो रोजाइमा रहेका हुन्छन्, उनी । सन् २०१८ मा रुसमा विश्वकप फुटबल सम्पन्न भयो । उक्त विश्वकपमा कप्तान मेस्सीले आफ्नो टोलीलाई अन्तिम १६ सम्मको यात्रा तय गराए । तर, फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना विश्वकप फुटबलबाट बाहिरिएको थियो । उक्त हारपछि मेस्सीले राष्ट्रिय टोलीबाट केही समय विश्राम लिए।

मेस्सी ‘कोपा अमेरिका’का लागि राष्ट्रिय टोलीमा फर्किए । पुनरागमनपछि राष्ट्रिय टोलीबाट मेस्सीले खेलेको पहिलो मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले निकारागुआलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्‍यो।

उक्त खेलपछि अर्जेन्टिनाले खेलमा राम्रो लय ल्याएको अर्जेन्टिनाका समर्थकहरूको आशा थियो। उक्त आशा त्यसको एक सातापछि निराशामा बदलियो । अर्जेन्टिनाले ‘कोपा अमेरिका’को पहिलो खेलमा नै पराजित हुँदै प्रतियोगिताको नमीठो सुरुआत गर्‍यो। पहिलो खेलमा पराजित हुँदा नै समर्थकहरुले कप्तान मेस्सीको आलोचना गर्न थाले। अर्जेन्टिना कोलम्बियासँग २–० गोलले पराजित भएको थियो।

पहिलो खेलमा पराजित अर्जेन्टिनाले ‘कोपा अमेरिका’को दोस्रो खेलमा पाराग्वेसँग १–१ गोलको बराबरी खेल्यो । त्यसपछि अर्जेन्टिनालाई तेस्रो खेलमा भने सफलता मिल्यो ।

अर्जेन्टिना क्लाटरफाइनलमा पनि सफल भयो । उसले क्वाटरफाइनलमा भेनेजुयलालाई २–० गोल अन्तरले जित्यो । अर्जेन्टिनाको यात्रा सेमिफाइनलमा सीमित भयो । सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग २–० गोल अन्तरले पराजित भयो ।

२०१९ को कोपा अमेरिकामा पनि अर्जेन्टिना मेस्सीको भरमा नै देखिन्थ्यो । जसमा मेस्सीले पेनाल्टीमार्फत् जम्मा एक गोल मात्र गरेका थिए । मेस्सी ब्राजिलमा भएको ‘कोपा अमेरिका’ मा बल्ल सफल भए । फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिललाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्यो ।

अब मेस्सीका लागि विश्वकप २०२२ फुटबल करिअरको अन्तिम मौका हुनेछ । तर, मेस्सी अफ्नो फुटबल करिअर सकिनुभन्दा पहिला देशका लागि विश्वकप उपाधि जिताउन चाहन्छन् । जसका लागि मेस्सी तयार पनि छन् ।

मेस्सीले आफ्नो तेस्रो विश्वकप खेल्दै गर्दा विश्वभरका अर्जेन्टिना तथा मेस्सी समर्थकहरूको नजर उनमा हुनेछ । उसो त मेस्सी आफै पनि अहिले सफल हुने होडमा छन् । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनल खेलमा जर्मनीसँग पराजित भयो । उक्त विश्वकपमा मेस्सी उत्कृष्ट खेलाडी साबित भए । त्यसपछि २०१८ विश्वकपमा भने मेस्सीले सोचेअनुसार प्रदर्शन गर्न सकेनन् ।

अहिले मेस्सीले आफ्नो जीवनको पाँचौँ विश्वकप खेल्दैछन् । मेस्सी सन् २००६ देखि २०१८ सम्म अर्जेन्टिनाको विश्वकप टोलीमा छन्।

विश्वकप अर्जेन्टिनाका लागि कति सहज ?

अर्जेन्टिना विश्वकपका लागि सहज समूहमा छ । उसको अहिलेको फर्म र टिमलाई हेर्ने हो भने समूह सी अर्जेन्टिनाका लागि सहज समूह हो । अर्जेन्टिना रहेको समूहमा साउदी अरेविया, मेक्सिको र पोल्यान्ड छन् । यो समूहमा तीन खेल खेल्दै शीर्ष दुई टोलीले अघिल्लो चरण पार गर्नेछन् ।

त्यसमा अर्जेन्टिना बलियो छ। त्यसपछि अर्जेन्टिनालाई अन्तिम १६ मा कस्तो प्रतिद्वन्द्वी पर्ने भन्ने कुरामा अघिल्लो चरणले निर्क्योल गर्नेछ। अहिलेको अर्जेन्टिनाको टिममा मार्टिनेज, जोकुइन कोरेरा, एन्जल डी मारिया, पाओलो डीबाला, डी पाओल, फ्रान्को अर्मानी, मार्टिनेज, लिसान्ड्रो मार्टिनेज जस्ता खेलाडी छन्।

यो टिमले अर्जेन्टिनालाई बलियो दावेदारीको रुपमा प्रस्तुत गर्ने कुरामा दुई मत छैन । तर खेल न हो, यसै भन्न सकिन्न।