दुई पटक निर्वाचन गराउने देउवा पहिलो प्रधानमन्त्री



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो।

उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भएको थियो। संविधानसभाले २०७२ असोज ३ गते नयाँ संविधान जारी गरेपछि नयाँ संविधानअनुसार २०७४ मंसिरमा एकसाथ प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो।

त्यसपछि आगामी मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न लागिएको हो। प्रधानमन्त्री देउवाले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने छन्।