काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको छ।
उनलाई अख्तियारले ६ लाख रुपैयाँ घुससहित नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो। गाडीमा भेटिएको रकमसहित उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो।
‘उहाँलाई रंगेहात पक्राउ गरेपछि सोधपुछ र खानतलासीका क्रममा उहाँको गाडी हेर्दा थप साढे १६ लाख रुपैयाँ भेटिएको छ’ अख्तियारका प्रवक्ता श्यामप्रसा भण्डारीले भने ‘त्यो रकम कहाँबाट, किन र कसले दियो भन्ने उहाँले खुलाउन सक्नुभएको छैन। हामीले बुझेअनुसार हामीलाई उजुरी गर्ने टोलीभन्दा पहिले अरु कसैसँग त्यो रकम लिएर हिँडेको हाम्रो आशंका हो।’
अख्तियारको टोलीले अहिले रकमको मुचुल्का बनाउनेदेखि अरु कागजात र प्रमाण संकलन गरिरहेको छ। अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो।
नेपालले प्याराग्लाईडिङ्ग सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो।