काठमाडौँ। नेकपा (एमाले) का नेता डा.भीमबहादुर रावलले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सपथग्रहणको पालना नगरे कारबाही गरिनुपर्ने बताएका छन्।
त्यसका लागि नेता रावलले कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘सपथसम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रावलले सपथ ग्रहण गरेका व्यक्तिहरुले संविधान, कानुन, मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डताको खुलेआम उल्लंघन गरेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरुलाई कारबाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
उनले निर्वाचनमा तालमेल गर्ने कुरा गरेर सत्तारुढ दलहरु आफैंले लिएको सपथ विपरित, संविधान र कानुन विपरित, राष्ट्रिय हित प्रतिकूलका गतिविधि गरिरहेको भन्दै आपत्ति पनि जनाए।
उनले भने, ‘निर्वाचनमा तालमेलको कुरा गरिएको छ। नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्। त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्नेछ। र, त्यसको निम्ति काम गर्नुपर्नेछ भन्ने लेखिएको छ । तर, त्यसको खुलेआम उलंघन गरिएको छ। र, एक प्रकारको निर्दलीय अभ्यासतर्फ देशलाई धकेलिएको छ। अनि यो सपथको के अर्थ भयोरु त्यसकारण यो सपथ लिइसकेपछि यसलाई कानुनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही हुनुपर्ने प्रावधान राख्नुपर्यो यहाँ।’