काठमाडौँ। मदन भण्डारी स्कुल अफ एशियाको आयोजनामा ३ हप्ते क्लोज क्याम्प सुरु भएको छ। सोमवार वाट सुरु भएको क्याम्पेन २१ दिन सम्म सञ्चालन हुने बताईएको छ।
क्याम्पमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरूको सहभागिता रहेको छ। क्याम्पमा अर्जेन्टिना,व्राजिल,युएस,स्पेन,वास्क कन्ट्री,घाना,साउथ एसिया, थाइल्याण्ड,मलेसीया, श्रीलंका, पाकिस्थान, वंगलादेश प्लालेस्टाईन र नेपालका ६० जनाको सहभागिता रहेको आयोजक संस्थाका माधव पन्तले बताए। क्याम्पमा समाजवादी शिक्षण सिकाईको प्रयोग गरिने बताइएको छ।
जसभित्र अनिवार्य श्रम गर्ने, सांस्कृतिक रात्रिहरू सञ्चालन गर्ने विभिन्न देशका संस्कृतिलाई प्रदर्शन गरिने, क्रान्ति, वर्गसंघर्ष, कम्युनिष्ट घोषणापत्र, पूँजिवाद र साम्राज्यवादका विरुद्ध समाजवादको पक्षसँगका छलफलहरु गर्दै कम्युनिष्ट आचरणलाई जोगाउने कामको सिकाइ हुने स्कुल अफ एसियाका अध्यक्ष बलराम बाँस्कोटाले बताए।
विश्वमा १५ वटा मार्क्सवादी स्कुल मध्ये एशियाकै नेपालमा मात्र मदन भण्डारीको नाममा रहेको मदन भण्डारी स्कुल अफ एसियाले माक्सवादको महत्वपूर्ण र गहिरो अध्ययन गर्दै आएको जसमा अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरूको सहभागिता रहेको स्कुल अफ एशियाका कोअर्डिनेटर प्रमेश पोख्रेलकाे भनाइ छ।
प्रशिक्षणमा विश्व कम्युनिष्ट पार्टीका विभिन्न देशका नेताहरु सहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपमहासचिव डा.विजय पौडेलसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुले सहजिकरण गर्ने कार्ययोजना रहेको छ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलन राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको बारेमा चर्चा गरेका छन्। कार्यक्रममा पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कार्यक्रमले कम्युनिष्ट आन्दोलनको अवस्थासहित ज्ञान आर्जन गर्ने महत्वपूर्ण थलो बन्नेमा विश्वास व्यक्त गरे। स्कुल अफ एशियाका अध्यक्ष बलराम बाँस्कोटाको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको थियो।