शक्ति आर्जनका निम्ति क्रियाशील बन्न नेता केसीको निर्देशन



काठमाडौँ। एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य लक्ष्मण केसीले हतारमा चुनावमा होमिनु परेको कारण संसदीय रुपमा पार्टी केहि कमजोर देखिएको बताएका छन्।

शनिबार कर्णाली प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको तेस्रो बैठकलाई सम्बोधन गर्दै गत स्थानीय तहको निर्वाचनमा पार्टी संसदीय फाटमा केही कमजोर देखिएको बताएका हुन्।

सम्पर्क विशेष प्रदेश कमिटीका सहइन्चार्ज समेत रहेका केसीले भने, “पार्टी निर्माणको छोटो समयमै चुनावमा जानुपर्यो। अर्को कुरा कांग्रेस र माओवादीले धोका दिएका कारण पनि हामी कमजोर बन्नुपर्यो।”

कमल खर्तीको अध्यक्षतामा सम्पन्न बैठकमा नेता केसीले कर्णालीमा समाजवादी पार्टी बलियो भएको र थप शक्ति आर्जन गर्नुपर्ने बताए। उनले भने,”समाजवादी केन्द्र निर्माण गर्ने कार्य अघि बढेको छ। सत्ता गठनबन्धन भित्र रहेर वाम मोर्चा बनाउने तयारी हुँदैछ। यो आजको आवश्यकता हो। केही वैचारिक विमती होलान्। ती विमतिलाई हल गर्नुपर्ने छ। हामी इमानदार भएर पार्टी निर्माणमा जुटौं।”

चुनावको समयका कारण संगठनका कार्यक्रम सन्चालन गर्न नसकिएको बताउदै नेता केसीले अन्लाईन बैठक बसेर भएपनी आवश्यकताको आधारमा पार्टी जीवनलाई जीवन्त पार्न निर्देशन दिएका छन्।

बैठकमा मुगुको सोरू गाउँपालिका अध्यक्ष तथा जिल्ला अध्यक्ष धर्म बहादुर शाही, कालिकोटको खाँडाचक्र नपाका मेयर कमल शाही, राष्कोट नपाका उपप्रमुख मनिराज बराललाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटीका इन्चार्ज तुलाराज सिम्खडा, प्रदेश कमिटी सदस्य धिरबहादुर बिष्ट,  सम्पर्क विषेश प्रदेश कमिटीका सदस्य जनक रोकाय, अनेरास्ववियूकी केन्द्रीय सचीव रमा रेग्मीलगायतको उपस्थिती रहेको थियो।