नाफा कमाउने दाउमा जुम्लाको काँचो स्याउ विक्री



जुम्ला। जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ।

नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेको हो।

भदौ १५ गते भन्दा अघि स्याउ नटिप्न कृषि विज्ञ देखि यहाँका स्थानीय तहले समेत सूचित गराइसकेका छन्। तर पछि मुल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले जुम्लाको काँचो स्याउ बेच्न थालेका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतका गल्ली गल्ली र चोक चोक तथा फलफूल मण्डीहरुमा जुम्लाको काँचो स्याउ विक्रिका लागि राखिएको छन्। त्यस्तै काठमाडौं, नेपालगन्ज, धनगढी, विराटनगर लगायतका जिल्लामा समेत जुम्ली काँचो स्याउ पुगेको छ।

यसले जुम्लाको पहिचानसँग जोडिएको जुम्ली अर्गानिक स्याउको पहिचान गुम्ने समेत खतरा बढेको कृषि विज्ञ बताउँछन्। जुम्लामा भदौ १५ गतेभन्दा अघि स्याउ टिप्न कसैलाई पनि छुट छैन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार साउन पहिलो साता जिल्लामा गोष्ठी गरेर काँचो स्याउ नटिप्न किसान व्यापारीलाई सूचित गराइएको छ। पछि उपयुक्त मुल्य र बजार नपाउने डरले किसानले काँचो स्याउ बजार पठाउन थालेका हुन्।