काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पाँचदिने जापान भ्रमणमा जाने भएका छन्।
उनका स्वकीय सचिव रमेश मल्लका अनुसार जापानमा रहेको नेपाली जनप्रगतिशील मन्चको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन उनी साउन २१ मा टोकियो प्रस्थान गर्न लागेका हुन्।
मल्लका अनुसार साउन २२ मा नेपाली जनप्रगतिशील मन्चले कार्यक्रम आयोजना गरेको हो। त्यसबाहेक दाहालले सम्भव भएसम्म राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। तर‚ उक्त भेटवार्ताको कुनै पनि कार्यसूची तय भइनसकेको उनले बताए।
यसका साथै दाहालले टोकियोको भ्रमणसमेत गर्ने छन्। ‘जापानबाट कार्यक्रमबारे सम्पूर्ण जानकारी आइसकेको छ। जाने प्रक्रियाको सुरुआत भइसकेको छैन। अब जापान प्रस्थानको गृहकार्यलाई अघि बढाउछौं,’ मल्लले भने।