काठमाडौँ। नेकपा एमाले नेता घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग (समाजवादी केन्द्र) बारे जिज्ञासा राखेका छन्।
सिंहदरबारमा भएको जम्काभेटमा भुसालले सत्तासीन वामघटकहरू मिलेर बन्न लागेको समाजवादी केन्द्रबारे जिज्ञासा राखेका हुन्। ‘एमालेलाई बाहिरै राखेर एकल प्रवृत्तिको कस्तो मोर्चा बनाउन खोज्नुभएको हो? एमाले बाहेकको वाम मोर्चा के सम्भव छ?,भुसालले प्रचण्डलाई सोधेका थिए। जवाफमा प्रचण्डले एमालेसँगको सहकार्य विगतमासमेत भत्किएको बताउँदै नयाँ ढंगले अघि बढ्न एमाले तयार हुनुपर्ने बताएका थिए।
‘एमालेसँग त विगतमा पनि त सहकार्य दीर्घकालीन भएन। अब नयाँ ढंगले अघि बढ्न लागिएको छ, भुसाललाई प्रचण्डको जवाफ थियो। सिंहदरबारमा भएको यो भेटलाई भुसालले जम्काभेट भनेका छन्।
सोमबारै नेकपा राष्ट्रिय एकता अभियानका संयोजक तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सिंहदरबारमा माओवादी संसदीय दलमा भएको भेटमा प्रचण्डलाई समाजवादी केन्द्र छिटो बनाउन आग्रह गरेका थिए। गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समाजवादी केन्द्रमा सामेल नहुने पनि बताएका थिए।
गत साउन २ गते माओवादी केन्द्र अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र गौतमबीच बसेको बैठकले सत्ता गठबन्धनभित्रैका दललाई समावेश गरेर समाजवादी केन्द्र निर्माण गर्ने विषयमा छलफल भएको थियो।
सबैको सहमतिपछि मन र विचार मिल्नेहरूबीच एकता, सिद्धान्तमा सहमत हुनेहरूसँग मोर्चा र सहकार्य गर्न चाहने शक्तिहरूसँग गठबन्धन बनाएर अघि बढ्न संयोजन समिति गठन गर्ने भनिएको थियो।