काठमाडौँ। नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरी नेपालले साफ यु २० च्याम्पियनसिपमा सानदार सुरुवात गरेको छ।
भारतको भुवनेश्वरस्थित कालिन्दा रंगशालामा सोमबार भएको खेलमा नेपालले सुरुवात देखि नै माल्दिभ्सलाई दबावमा राखेको थियो। नेपालका लागि दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे। ४२औं मिनेटमा दिपेश गुरुङले गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता बनाएको हो ।
त्यसअघि १०औं मिनेटमा सुमित श्रेष्ठ र १६औं मिनेटमा कृतिशले गोलको राम्रो अवसर खेर फालेका थिए। कप्तान आयुष घलानले दायाँ कर्नर नजिकैबाट प्रहार गरेको फ्रि किकलाई माल्दिभ्सका गोलरक्षक साहिहान अलीले पञ्च गरेको बललाई दिपेशले बक्स बाहिरबाट सानदार गोल गरे।
दोस्रो हाफमा नेपालले ३ गोल थप्यो। दोस्रो हाफको ५८औं मिनेटमा सुगम र त्यसको चार मिनेटपछि कृतिशले पेनाल्टीमार्फत गोल गरेका हुन्। माल्दिभ्सका हुुसेन सादिनले कप्तान आयुषलाई बक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको हो।
इन्जुरी समयको अन्तिम मिनेटमा मनग्य नकर्मीले नेपाललाई ४–० को जित निश्चित गराए। नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेल बुधबार श्रीलंकासँग खेल्ने छ।