माधव-प्रचण्ड गद्दार हुन्: महासचिव पोखरेल



सुर्खेत। नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दारहरू भएको टिप्पणी गरेका छन्।

उनले भने, ‘०४५ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्ड अहिलेसम्म आफ्नो ठाउँमा पुग्ने हाराहारीमा पार्टीभित्र नेता जन्मिएको छैन भन्नुहुन्छ। त्यो उहाँको भ्रमपूर्ण तर्क हो। माधव नेपाल आदर्शकै गफमा भुल्नु भएको छ ।’

उनले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको टिप्पणी गरेका छन्। उनले यदि नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएको बताए।

शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ।’

नेपालको राजनीति दुईवटा ध्रुवमा विभाजित भएको समेत पोखरेलले बताए । उनले भने, ‘त्यो भनेको एउटा केपी ओलीले अघि सारेको बाटो र अर्को शेरबहादुर देउवाले अघि सारेको बाटो,’ पोखरेलले भने, ‘त्यसमा जनताको बहुदलीय जनवादको बाटो नै उपयुक्त हो । प्रचण्ड–माधव त देउवाकै बाटोमा छन् ।’ देउवाको बाटोमा हिँडेर प्रचण्ड र माधव नेपालले गद्दारी गरिरहेको बताउँदै उनले एमालेको नेतृत्वमाथि आक्रमण भइरहेको स्पष्ट पारे।