काठमाडौँ। मुलुकभर तीनवटा स्थानीय तहले शून्य बेरुजु बनाएका छन् । तीमध्ये प्युठान जिल्लामा दुई स्थानीय तह छन्। हालै सार्वजनिक महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदनअनुसार प्युठानको सरुमारानी र मल्लरानी गाउँपालिकाको बेरुजु रकम शून्य रहेको हो।
ताप्लेजुङको सिरजङ्गा गाउँपालिका पनि शून्य बेरुजु भएको स्थानीय तह बनेको छ । सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले शून्य बेरुजु गर्न सफल भएकोमा खुसी व्यक्त गरे । शून्य बेरुजुको स्थानीय तह बनाउने उद्देश्य थियो, सफल भयौँ,” उनले भने।
कर्मचारी र जनप्रतिनिधिको कुशल समन्वयका कारण बेरुजु शून्यमा झार्न सफल भएको उनले बताए। प्रतिवेदनअनुसार प्युठानका अन्य सात स्थानीय तहको बेरुजु तीन प्रतिशतभन्दा कम छ। महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखापरीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशासन राम्रो भएको मानिन्छ। आजको गोरखापत्र दैनिकमा समाचार छ।