काठमाडौँ। जनता समाजवादी पार्टी जसपा नेपालको पुनर्गठनका लागि आह्वान गरेका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अन्ततस् आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु गरेका छन्।
जसपाको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष भट्टराईसहित नौजनालाई पार्टीबाट कारबाही गरेको छ। सो कारबाहीलाई खारेज गर्दै अध्यक्ष भट्टराईले असार ३० गते एक विज्ञप्ति जारी गरी जसपा पुनर्गठन गर्न आह्वान गरेका थिए। जसपालाई नै पुनर्गठन गर्ने आह्वान गरेपनि उनले भित्रैभित्रै नयाँ पार्टी गठनको तयारी सुरु गरिसकेको स्रोतले जनाएको छ।
बाबुराम पक्षका एक नेताले भने, ‘शनिबारको बैठकले नयाँ पार्टी नै बनाएर अगाडि बढ्ने निर्णय भइसकेको छ। कस्तो पार्टी बनाउने त्यसको बारेमा कुरा टुंग्याउन बाँकी छ। बाबुरामजी आज गोरखा जानु भएको कारणले बैठक बसेन, भोलि बस्ने बैठकले सायद सबै कुराको टुङ्गो लगाउने छ।’
पार्टीको नामदेखि विधानबारेमा भोलि बस्ने बैठकले तय गर्ने उनको भनाई थियो। ‘हाम्रै पक्षमा रहनुभएका एकजना नेताले निर्वाचन आयोगमा पार्टी दर्ता गरेर राख्नुभएको छ। आवश्यकता परेमा त्यसलाई पनि प्रयोग गर्न सकिन्छ,’ ती नेताले भने। निर्वाचनको मुखमा नयाँ पार्टी दर्ता गराउन आयोगले नमाने यसअघि निर्वाचन आयोगमा दर्ता भएको पार्टीलाई नै प्रयोगमा ल्याउने बाबुरामको तयारी छ।
नयाँ पार्टीका लागि विभिन्न नामहरू प्रस्ताव भएका छन्। त्यसमाथि पनि छलफल भइरहेको छ। संघ र प्रदेशको चुनावमा भाग लिने गरी पार्टी दर्ता गराउने सोच डा। भट्टराईको छ। ‘जसपा नेपाललाई नै पुनर्गठन गर्नेतिर लाग्यो भने त्यहाँ कानुनी झन्झट हुन्छ। अनेक लफडा आइलाग्छ। त्यतिबेलासम्म आफूसँग चुनाव लड्ने पार्टी नहुनसक्छ,’ ती नेताले भने। त्यसैलाई मध्यनजर गर्दै बाबुराम पक्षले जसपालाई पुनर्गठन गर्ने झन्झट छाडेर नयाँ पार्टी गठनकै गृहकार्यमा जुटेको छ।
अहिले पार्टीमा एकजना संयोजक र आयोगको आवश्यकता अनुसार अन्य पदाधिकारीहरू राखेर पार्टी दर्ता गराउने बाबुराम भट्टराई पक्षको सोच रहेको छ। पार्टी गठन भइसकेपछि थप छलफल गरेर पार्टीको संरचना निर्माण गर्ने बाबुराम पक्षको तयारी छ।
पार्टीमा महिन्द्रराय यादवलाई उचित स्थान दिइनेछ। पार्टीको संरचनाबारे दुईजनाको बीचमा छलफल भएपछि मात्र संरचना तयार हुने एक नेताले रातोपाटीलाई बताए । पार्टीको संयोजक बाबुराम भट्टराई नै रहने निश्चित छ। महेन्द्र राय यादवलाई वरिष्ठ नेता, संघीय परिषद्का अध्यक्ष वा उनकै सल्लाहमा कुनै पद दिन सकिने गृहकार्य भइरहेको बताइएको छ।
जसपा बाबुराम पक्षका कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘अहिले कुनै कुराको टुङ्गो लागेको छैन। नेताहरूको बीचमा आन्तरिक छलफल चलिरहेको छ केही दिनमा सबै कुराको टुङ्गो लागि हाल्छ।’ भट्टराईले जसपा पुनर्गठनका लागि आह्वान गरेका कारण पहिलो प्रयास त्यसकै लागि हुने उनको भनाई छ। ‘त्यो नभएपछि मात्र अर्को विकल्पमा जाने सोच्न सकिन्छ,’ उनले भने।
बाबुराम पक्षका नेताहरूले अझै पनि आफूहरूसँग ४० प्रतिशत बहुमत रहेको दाबी गर्दै आएका छन्। पार्टी विभाजन वा अर्को नयाँ पार्टी गठन गर्नेबेलासम्म यो सङ्ख्या सार्वजनिक गर्ने गरी नै आउने सो पक्षका नेताहरूले दाबी गरेका छन्।
वीरगञ्ज बैठकपछि थप केही नेताहरू बाबुराम भट्टराईको सम्पर्कमा आएका छन्। ८–१० सांसदहरू पनि सम्पर्कमा छन् तर कारबाहीको डरले खुलेका छैनन्। चुनावको मिति घोषणापछि अन्य नेता तथा सांसद खुलेर आउने बताइएको छ।