काठमाडौँ। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले त्रिविको बेथिति अन्त्यका निम्ति आमरण अनसनरत अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव वन्तको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
बिहिबार अध्यक्ष नेपालसँगै पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री मेटमणी चौधरी, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलगायतका नेताहरुले पनि उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। भेटका क्रममा अध्यक्ष र मन्त्रीहरुले अनेरास्वयूले उठाएका जायज मागहरु सम्बोधनका निम्ति त्रिवि र सरकारको ध्यानाकर्षण गराउने बताएका छन्।
आमरण अनसनको तेस्रो दिनसम्म पनि सरोकावाल पक्षले कुनै चासो दिएको छैन। संगठनका अध्यक्ष पराजुली र उपाध्यक्ष पन्तको स्वास्थ्य अवस्था कमजोर बनेपछि बुधबार शिक्षण अस्पतालमा भर्ना गरिएको हाे। अनेरास्ववियू स्थायी कमिटी सदस्य हर्क बहादुर बमका अनुसार अध्यक्ष पराजुली र उपाध्यक्ष पन्तको स्वास्थ स्थिति कमजोर बनेपछि अस्पताल भर्ना गरिएको हो।
उनले भने, ‘अध्यक्ष पराजुली र उपाध्यक्ष पन्तलाई बुधबारदेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मोनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। अनेरास्ववियूले गत मंगलबारदेखि त्रिवि परिषरमा १३बुँदे मागसहित अनसन सुरु गरेको हाे।’
विधावारिधिमा विद्यार्थीहरुलाई सौलियत दिनुपर्ने, १४ वर्षदेखि अलपत्र स्ववियू निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमिस्टार प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, पाठ्यक्रम समयानुसार निर्माण गरिनुपर्ने, त्रिवि पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्य गर्नुपर्ने जस्ता महत्वपूर्ण माग अघि सारिएका छन्।